प्रचण्ड-सीता: जीवन र युद्धमोर्चामा सँगसँगै

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेरि पारिवारिक वियोग परेको छ । यसअघि छोरा प्रकाश दाहाल र छोरी ज्ञानु गुमाइसकेका प्रचण्डले बुधबार जीवनसंगिनी सीता दाहाललाई गुमाएका छन् ।

प्रचण्ड पत्नी सीताको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । उनलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)जस्तो जटिल रोगले लामो समयदेखि सताएको थियो ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकारसमेत रहेकी सीतालाई उक्त रोगको संकेत धेरै पहिला देखिएपनि २०७४ सालमा छोरा प्रकाशको निधन भएपछि झन् च्यापेको थियो । पटकपटक उपचारका लागि विदेश लगिएपनि उनी रोगमुक्त हुन सकेकी थिइनन् ।

प्रचण्डले सीताको उपचारका लागि भारतदेखि सिंगापुर र अमेरिकासम्मका अस्पताल चहारेका थिए । अस्पतालको केही जोर नचलेपछि उनले सीतालाई म्याग्दीको तातोपानी कुण्ड समेत पु¥याएका थिए । नयाँ ठाउँ र परिवेशमा लगेर मन बहलाउने प्रयत्न गरेपनि सीतालाई पीएसपी रोगले यसरी गाँज्यौ कि त्यो कहिल्यै निको हुन सकेन ।

सीताको स्वास्थ्यमा केही सुधार हुन्छ कि भन्ने आशामा उनीहरूले दोस्रोपटक विवाहसमेत गरेका थिए । ५०औँ वर्षगाँठका अवसरमा २०७६ वैशाख २६ गते उनीहरूको पुनः विवाह भएको थियो । विवाहले पत्नी सीताको स्वास्थ्योपचारमा मनोवैज्ञानिक रूपले सकारात्मक प्रभाव पर्ने प्रचण्डको अपेक्षा थियो ।

मागी विवाह

वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सिताको २०२६ सालमा पुष्पकमल दाहालसँग विवाह भएको थियो ।

कक्षा १० मा पढ्दापढ्दै आफूभन्दा ६ महिना कान्छो दाहाल थरका केटासँग बिहे गरेपछि उनी पौडेलबाट दाहाल बनेका थिए । सीताको माइती दाहालको भन्दा सम्पन्न थियो । बिहेका लागि धेरै ठाउँबाट प्रस्ताव आइरहेका थिए, तर लेखपढ गरेको केटोसँग बिहे गरिदिए छोरीले सुख पाउली भनेर सीताका आफन्तले प्रचण्डसँग बिहे गरिदिए ।

विवाहअगाडि सीताले प्रचण्डलाई चिनेकी पनि थिएनन् । उनले ‘जनयुद्धका नायक’ पुस्तकमा दिएको एक अन्तर्वार्तामा विवाहबारे भनेका छन्– ‘हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।’

१५ वर्षको कलिलो उमेरमा पुष्पकमलको जीवनसंगिनी बनेकी सीताले जीवनका कठिन दिनमा पनि श्रीमानको साथ छाडिनन् । भारतमा रहँदा होस् या त सशस्त्र द्वन्द्वका बेला किन नहोस्, उनी पति सँगसँगै हिँडिरहे ।

उनी सधैँ प्रचण्डको नजिकका सल्लाहकार र रक्षाकवच बनेर साथमै उभिइरहे । तीन छोरी र एक सानो छोराको हेरचाह गर्नुपर्ने बेला उनले पतिको युद्धमा साथ दिइरहे ।

राजनीतिक सारथि

औपचारिक शिक्षा सामान्य भएपनि उनले माओवादी आन्दोलनलाई यहाँसम्म ल्याइर्पुयाउन ठूलो भूमिका खेलेका थिए । १० वर्षे जनयुद्धकालमा उनको भूमिका प्रचण्डको भन्दा कम थिएन ।

सीता प्रचण्डको जीवनसंगिनी मात्र थिएन्, उनी प्रचण्डको राजनीतिक सारथि नै थिए । सीताले प्रचण्डको हरेक पाइलामा साथ र सल्लाह दिँदै आएका थिए ।

दश वर्ष बढी प्रवास र वनवास पूरा गर्दा प्रचण्ड र सीता धेरैपटक मृत्युको मुखबाट बाँच्न सफल भएका थिए । सीताले कहिले प्रचण्डलाई आफ्नो सल ओढाएर भारतीय प्रहरीलाई छक्काए भने कहिले सावधान गराएर जनयुद्धका सुप्रिम कमान्डरको ढाल बनेका थिए ।

कसरी जोगिने भन्ने उद्देश्यमा केन्द्रित रहेकै बेला तीनवटै छोरीहरूको विवाह भएको थियो । अझ रोचक त दुईवटी छोरीहरू रेणु र गंगाको प्रवासमा एकैदिन विवाह गरिदिएका थिए ।

२०५२ साल फागुन १ गते जनयुद्ध सुरु हुँदा पश्चिम र पूर्वका केही ठाउँमा एकैसाथ प्रहरी कार्यालयमाथि माओवादीले आक्रमण गरेको थियो । त्यो बेला प्रचण्ड र सीता काठमाडौंमा सँगै थिए ।

त्यसपछि सीता कहिले रोल्पा, कहिले रुकुम त, कहिले काठमाडौं, कहिले ललितपुरका विभिन्न ठाउँ सर्दै बसे । युद्ध चर्किँदै गएपछि उनीहरु भारतका विभिन्न सहरमा बसे । प्रवासमा पनि प्रचण्डलाई चौतर्फी सुरक्षा शक्ति केन्द्रहरूले घेरा हालेको थाहा पाएपछि प्रचण्ड र सीता रोल्पा–रुकुमलाई आफ्नो हेडक्वार्टर बनाएका थिए । दुईवर्षे रोल्पा बसाइपछि राजतन्त्रको अन्त्य गर्ने प्रयोजनमा १२ बुँदे सहमति गर्न दिल्ली पुगेका थिए ।

जंगलमा भएको माओवादीले पनि जनआन्दोलनमा साथ दिएपछि २०६२–६३ मा राजतन्त्र ढल्यो । त्यसपछि माओवादीले शान्ति प्रक्रियामार्फत माओवादीले संसदीय राजनीति सुरु गर्याे। पहिलो संविधानसभाको चुनाव (२०६४ चैत २८) मा ऐतिहासिक विजय प्राप्त गर्दै माओवादी सत्तामा पुग्यो ।

सत्तायात्रासँगै माओवादीमा विचलन समेत आयो । त्यसबेला पनि प्रचण्डलाई सीताले आँट, भरोसा, साथ, सहयोग र सल्लाहसुझाव दिइरहे । सत्तामा टिकिराख्न होइन, जनताको सेवा गर्न जाने हो भन्दै सम्झाइरहे । तर, केही वर्षयता भने प्रचण्डले सीताको सल्लाहको कुरा छाडौँ, बोलीसमेत सुन्न पाएका थिएनन् । अब त प्रचण्डले सीताको भौतिक रुपमा कहिल्यै देख्न पाउने छैनन् । तर, उनको आभास सँधै भइरहने छ ।

-दृष्टि न्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार