इलाम : कोशी प्रदेशस्थित नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापाले प्रदेश सभामुखलाई माओवादीको सांसदमै गणना गरी गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा संसदीय दलका नेताको हस्ताक्षरसहित थापाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीको लागी दाबी पेस गरेका हुन् ।
गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३, सभामुखसहित), नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ । तर, सभामुख जोडेर बहुमत पुर्याउन नहुने एमालेले बताउँदै आएको छ ।
यसअघि सभामुख सहितको दाबी ग्रहण नगर्न एमालेले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएको थियो । कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले सरकार गठनको लागि सभामुखलाई दलको सदस्यमा गणना गर्दै दाबी गर्ने तयारी गरेपछि एमालेले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको हो ।
एमाले मात्र होइन कांग्रेसकै नेता शेखर कोइरालाले समेत सभामुखलाई जोडेर सरकार गठन गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।