इलाम : यो वर्ष आवश्यक मात्रमा वर्षा भएसँगै इलामका लेकाली क्षेत्रका आलु किसानको आलु उत्पादनमा वृद्धि भएको छ । आलु उत्पानदमा वृद्धि हुनका साथै भाउ समेत राम्रो पाएपछि आलु किसानहरु हर्षित भएका छन् ।
माईजोगमाई गाउँपालिकाको नयाँबजार ,जोगमाई ,प्याङ एवम् सन्दकपुर गाउँपालिकाको जमुना, माबु, माईमझुवा र माईपोखरीको माथिल्लो भेकमा हजारौं हेक्टरमा रोपेको आलु विगत वर्षमा भन्दा दुई गुना धेरै फलेको माईमझुवाका किसान पुष्पा गुरुङले बताइन् ।
आलु फलेसँगै बजार भाउ पनि राम्रो आएकोले लेकाली आलु किसानहरु खुशी भएका छन् । अहिले व्यापारीहरुले घरघर र बारीबाटै प्रतिमन १३ सय देखि १५ सय दिएर लाने गरेका छन् ।
त्यस ठाउँ जिल्लाको माथिलो क्षेत्र भएकोले अत्याधिक चिसो हुने गर्छ । त्यसैले आलु बाहेक अन्य खेती हुँदैन । यहाँका किसानहरुको आम्दानीको मुख्य श्रोत आलु खेती नै हो । त्यसैले यो वर्ष आलु फलेसँगै भाउ पनि आएकोमा किसान दङ्ग परेका छन् ।
धेरै लेकाली किसानहरुले असार दोस्रो सातासम्म आलु खन्ने समय भएपनि थप भाउ आउने पर्खाईमा आलु खनेका छैनन् । यस बेलाको लेखाली आलु आउँदो सिजनमा तल्लो क्षेत्रमा हिउँदे आलुको लागि बीउ हुने भएकोले अहिले नै तल्लो भेगका किसानहरुबाट आलु अध्याधिक माग आइरहेको माईजोगमाई ६ बिक्रम थेबे बताउँछन् ।
केही समयपछि भारती व्यापारीहरु समेत किसानहरुको घरघर छिर्ने भएकोले आलुको मूल्य महङ्गो हुने भएकोले सुरुमा नै आलु बीउ किन्न लागेको हो । गएको साल आलु नफलेकोले मुस्किलले बीउ मात्र जोगाएको थेबेले यो बर्ष राम्रो आलु फलाएकोले राम्रो पैसा हात पार्न सफल भए । अहिले आलुको माग धेरै आएको थेबेको भनाई छ ।
यहाँको मुख्य खेती नै आलु हो । समयमै पानी परेर घाम लागेकोले यो बर्ष सबै ठाउँ आलु फलेको किसानहरु बताउँछन् । अहिले धमाधम आलु खन्ने समय भएको र आलु खनेता पनि अझ राम्रो भाउ आउने अनुमानले धेरैले नबेची घरमै राखेको सन्दकपुर माबुका प्रेम गुरुङ बताउँछन् ।
पुसको दोश्रो सातादेखि फागुन पहिलो सातासम्म रोप्ने लेखाली आलु असार मसान्तसम्म खन्ने गरिन्छ । बिउको लागि सिचाइ गर्नु नपर्ने भएकोले लेखाली आलु बिउको लागि उतम भएकोले धेरै ठाउँबाट माग आउने गरेको छ ।
छिमेकी देश भारतमा बिउकै लागि बर्सेनि हजारौ मन निर्यात हुने गरेको छ । रोपेको सुरुमा महिनासम्म जंगली जनावर बदेलबाट रातदिन नभनी हेरचाह गर्नुपर्छ । नत्र रोपेको बीउ सबै खाई दिन्छ । त्यसैले रातभर भारि आलु बारिमै गोठ बनाएर जाग्राम बसेरकोले जंगली जनबारहरु छिर्न पाएन । त्यसैले पनि आलुलाई असर पर्न नपाएकोले मनग्ये फलेको माईजोगमाई ६ का रघु राई बताउँछन् । वर्ष दिनको घर खर्च टार्ने मुख्य श्रोत नै आलु मात्र भएको र यो वर्ष राम्रो फलेकासँगै बजार भाउ पनि राम्रो पाएकोले धेरै लेकाली किसान खुशी भएका छन् ।