दुधबाट कोशेली जन्य परिकार बनाउन सिकाउँदै

  युद्धबहादुर बोहोरा
672 Shares

पाँचथरः आफन्तमा कतै जानु परे वा कहीं घुमेर आफ्नो घरमा आउँदा प्रायः खाली हात नहिंड्ने नेपालीको चलन छ । आफ्नो घरमा भएको परिकार भन्दा पनि बजारमा पाइने तयारी सामाग्री कोशेली बोक्दा पैसा गाउँबाहिर जाने मात्रै नभइ स्थानीय सामाग्री पनि ओझेलमा पर्न थालेका छन् । किसानले आँफै उत्पादन गरेका खाद्य सामाग्रीलाई व्यवस्थित ढंगबाट उपयोग गर्न नसक्दा र गाउँमा अर्ग्यानिक परिकार बनाउने सिपको अभावमा सस्तो भाउमा बेचेर गाउँका मानिसले खर्चिलो मुल्यमा सामान किन्नु पर्ने बाध्यता छ । कतिपय ठाउँमा गाउँका अर्ग्यानिक खाद्य सामाग्रीको महत्व बुझ्नेहरु धेरै छन् तर, विभिन्न परिकार र आकर्षक सामाग्री बनाउँन नजान्दा उचित मुल्य नपाएर गाउँका खाद्य सामाग्री लिलामी भइरहेका उदाहरण छन् ।

यसै क्रममा दुधबाट विभिन्न दुधजन्य परिकार उत्पादन गरी बिक्री बितरण गर्ने वातावरण सृजना गर्ने  उदेश्यले फाल्गुनन्द गाउँपालिकाका अगुवा कृषक तथा डेरी व्यावसाय संचालन गर्दै आएका १४ जनालाई ललिपप,खुवा,रसवरी,पेडा,पनिर र पुष्टकारी बनाउने सिप सिकाएको छ । पशुपालक किसानले गाउँमै राम्रो आम्दानी लिन सकुन् भन्ने हेतुले सातै वटा वडाबाट दुई-दुई जना छनौट गरिएका मध्ये छ महिला र आठ पुरूषलाई तीन दिनसम्म गराइएको प्रशिक्षण सोमबार समापन भएको हो । २० वर्षदेखि ५५ वर्षसम्मका स्थानीय साथै वैदेशिक रोजगारबाट नेपाल फर्किएका समेतले तालिम लिएका छन् ।

पाँचथरमा १६ वर्षदेखि त्रिशक्ति डेरी तथा ललिपप उद्योग संचालन गर्दै आएका रिन्जी शेर्पाले प्रशिक्षण दिएको जनाइएको छ । सुकेपोखरी कृषि फर्म कम्पनी प्रालिको आयोजना तथा फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा तालिम संचालन गरिएको संस्था संचालक धनबहादुर तामाङ(अनिश) ले जानकारी दिए । समापनमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बृज हाङ आङ्देदम्बेले तालिममा सहभागीलाई आगामी दिनमा व्यावसायिक बनेर पेशा शुरू गर्न सुझाब दिए । स्थानीय उत्पादन गाउँमै खपत तथा उचित भाउमा बाहिरी बजारमा बेचेर आयआर्ज गर्न सकिने अपेक्षा राखिएको उनले बताए ।

उत्पादन भएको परिकार स्थानीय बजार रवि,राँके,घुर्बिसे पञ्चमी,पौवा भञ्ज्याङलगायतमा कोशेलीका रुपमा बिक्री हुने र आर्थिक रुपमा सवल बन्न सहयोग पुग्ने उपाध्यक्ष ठाकुर सिं नेम्बाङको भनाइ छ । सहभागीले तयार गरेका परिकार अतिथि तथा उपस्थितलाई वितरण गरिएको साथै सहभागीलाई अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।  हाल पालिकामा ४० वडा डेरी संचालनमा रहेको र यहाँका किसानले दैनिक चार हजार लिटर भन्दा बढी दुध उत्पादन गर्ने गरेको फाल्गुनन्द गाउँपालिका पशुपन्क्षी सेवा शाखा प्रमुख गोपाल घिमिरेले जानकारी दिए ।

पालिकाको ३ नम्बर वडामा २०७५ सालमा स्थापना भएको यस संस्थाले नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल वितरण गर्दै आएको  छ । स्थानीय लोकल जातका आलुका बीऊ इलाम र पाँचथरका स्थानीयतहले किसानलाई वितरण गर्न खरिद गर्ने गरेको समेत संस्थाका सदस्य सागर नेम्बाङले बताए । समापनमा तुम्वेवा गाउँपालिका भेटेरिनरी शाखाका डाक्टर लक्ष्मी पौडेलको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार