इलाम : नेकपा एमालेका नेता योगेश भट्टराईले देशको एउटा इतिहास बोकेको नेपाली काँग्रेस प्रचण्डको पछाडी लागेर सक्किने दिशातर्फ अघि बढेको बताएका छन् । ७२ औं मदन भण्डारी स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउण्डेशन इलामले सदरमुकाममा आयोजना गरेको आजको लोकतन्त्र उपलब्धि र चुनौती बिषयक अन्तर संवादमा बोल्दै नेता भटटराईले ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको साथले काँग्रेस सक्किने भन्दै बेलैमा सजग रहन सुझाव दिएका थिए ।
उनले पछिल्लो समय पहिचान पक्षधरको नाममा नेकपा एमालेका नेतामाथि आक्रमणका घटना बढि हुन थालेको भन्दै आपत्ति समेत जनाए । नेकपा एमाले कहिले पनि पहिचान बिरोधी नभएको जनाउँदै कोशि प्रदेशको नामाकरणमा प्रकृयागत ढंगबाट दुई तिहाइको बहुमतबाट प्रदेश सभाले राखेको जनाए । यो नामाकरण परिवर्तन गर्न जुन प्रकृयाबाट कोशि प्रदेशको नामाकरण गरियो त्यहि प्रकृयामा गएर परिवर्तन गरेर देखाउन पहिचान पक्षधरलाई चुनौती दिए ।
त्यहाँ एमाले एक्लैको बलमा कोशी प्रदेश नामाकरण नभएको उल्लेख गर्दै काँग्रेस, एमाले, माओबादी सहितका दुई तिहाई बहुमतबाट नामाकरण गरिएकोले एमालेप्रति लक्षित गरेर आक्रमण गर्दा नाम परिवर्तन हुन नसक्ने उल्लेख गरे । भट्टराईलाई यहि कार्यक्रममा इलाम आउने क्रममा चोकबजारमा पहिचानबादीले कालोझण्डा देखाएर बिरोध जनाएका थिए ।