इलाममा मासुजन्य जाँच ऐन कार्यन्वयन तथा सहजीकरण कार्यक्रम अन्तर्गत सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  नयाँ बुलन्द
315 Shares

इलाम : सरकारले स्वस्थ मासु उत्पादनका लागि पशु बधशाला तथा मासु जाँच ऐन नियम बनाए पनि लागू हुन सकिरहेको छैन । मासु जाँच ऐन र पशु बधशाला तथा मासु जाँच नियमावली कागजी पानामा मात्र सीमित हुन पुगेको छ । सरकारले स्वस्थकर मासु उत्पादनका लागि मासु बधशाला र मासु जाँच ऐन नियमावली बनाए पनि अधिकाँश व्यवसायीले सो नियमावली अवलम्बन नगरेको पाइएको छ ।

उपभोक्तालाई सफा र स्वस्थकर मासु बिक्री गर्न र विभिन्न मासुजन्य रोगबाट टाढा रहनका लागि पशु बधशाला तथा मासु जाँच ऐन बनाएको हो । सम्बन्धित निकायले समय समयमा मासु पसलको अनुगमन, अन्तरक्रिया, गोष्ठी, पशु बधशाला, मासु जाँच ऐन नियमावली सम्बन्धी व्यवसायीलाई जानकारी गराउँदै आइरहेको छ ।

तर पनि व्यवसायीले ध्यान र चिन्तन नगरीदिँदा मासु ऐन नियमावली कार्यान्वयन हुन सकिरहेको छैन । यसै बिषयमा इलाम सदरमुकाममा आज मासुजन्य जाँच ऐन कार्यन्वयन तथा सहजीकरण कार्यक्रम अन्तर्गत सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम भएको छ । इलाम नगरपालिका पशुपंक्षि बिकास शाखा इलामले आयोजना गरेको कार्यक्रममा इलाम नगरपालिका भित्र मासु पसलहरु धेरै भएपनि अझैपनि ब्यबस्थित ढंगबाट चल्न नसकेको, धेरै मासु पसल दर्ता नभई सञ्चालन भइरहेको बताएका थिए ।

यस्तै मासु पसलहरुमा फरक फरक मूल्य हुँदा सेवाग्राही मारमा पर्नका साथै ब्यबसायीहरु समेत समस्यामा पर्न थालेको बताइएको थियो । इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहाल लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सम्पर्क कार्यालय इलामका प्रमुख राघव तिवारीले मासु जाँच ऐन नियमको बारेमा जानकारी दिँदै कस्तो मासु खाने, स्वस्थ्यकर मासु कस्तो हुन्छ, मासु पसलहरु कस्तो हुनुपर्छ लगायतका बिषयमा जानकारी गराएका थिए ।

इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठले ७ नम्बर वडामा धेरै मासु पसल रहेपनि केही मासु पसल बाहेक अधिकाँश दर्ता बिहीन् चलिरहेकाले सबै ब्यबसायीलाई दर्ता प्रकृयामा आउन आग्रह गरे । कार्यक्रममा नगर प्रबक्ता नुतनदेव दुलाल, वडा नम्बर ५ का वडाध्यक्ष काजी श्रेष्ठ सहित पाल्ट्रि ब्यबसायी, मासु ब्यबसायी लगायतले पनि आ आफनो धारणा राखेका थिए ।

इलाम नगरमा सञ्चालित अधिकांश पसल मापदण्ड विपरीत रहेका छन् । ऐननियम अनुसार व्यवसाय चलाउँदा कहिलेकाहीँ उपभोक्ता मासुमा ठगिने पनि गरेका छन् । मासु सुधार ऐन, मासु पसल सरसफाइ, मासु पसलमा हुनुपर्ने मापदण्ड, मासुको मूल्यसूची अनिवार्य राख्नुपर्ने लगायतका विषयहरु पनि मासु पसलमा नभएको बताइएको छ । कार्यक्रमकाे स‌चालन इलाम नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश लुइटेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार