अनुदानको मल विचौलियालाई विक्री गर्दै इलामका सहकारी ,नियमनकारी निकाय बने रमिते

  गोपाल निरौला
3.6k Shares

इलाम : नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइएको छ ।बास्तविक किसानले अनुदानको मल नपाईरहँदा सहकारीले विचौलियालाई बेच्ने गरेको पाइएको हो ।

किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले आज (बुधबार) अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि विज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो । अनुदानको मल विक्री अनुमति नभएको पाइएपछि प्रशासनले मल गोदाम शिल गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्र्र्रुव प्रसाद कोईरालाको नेतृत्वमा रहेको अनुगमन टोलीले आवश्यक कागजात सहित तीन दिन भित्रमा प्रशासनमा उपस्थित हुन विज भण्डारका संचालकलाई निर्देशन दिएको बताए । कोईरालाले ताकिएको समयमा आवश्यक कागजपत्र नजुटाएमा कानुन बमोजिम कारबाही गरिने बताए ।

नेपालटामा रहेको सूर्यज्योति कृषि सहकारीले एक सय २० बोरा अनुदानको मल किसानलाई नदिई उक्त कृषि विज भण्डारलाई विक्री गरेको थियो । कृषि सामाग्री कम्पनी इलामबाट यो सहकारीले तीन सय ७० बोरा यूरिया र एक सय ५२ बोरा डिएपी मल पाएको छ ।यता सहकारीका व्यवस्थापक अमर खत्रीले मल विक्री नगरेको भन्दै गोदाममा मात्र राखिएको बताए । तर खत्रीले राखिएको भनेको गोदामबाट कृषि विज भण्डारले खुलेआम चर्को मूल्यमा मल विक्री गरिरहेको प्रमाण फेला परेको छ ।

उता अनुगमनको टोलीलाई भने कृषि विजका संचालकले झापाको चारआलीबाट मल खरिद गरेको बताएपनि उनले खरिद गरेको आवश्यक कागजपत्र देखाउन सकेनन् ।

कृषि सामाग्रीका अनुसार सहकारीले यूरिया ९ सय नौ र डिएपी २३ सय उन्सठ्ठी रुपैयाँ प्रतिबोरामा पाउँछन् । तर केही सहकारीले सस्तो मूल्यको मल किसानलाई नभई विचौलियालाई बेच्ने गरेका हुन् । पछिल्लो समय इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।

पालिकाहरुले सहकारी मार्फत किसानलाई वितरण गर्नुपर्ने मल विचौलियाको हातमा पुग्ने गरेको छ । विचौलियाले किसानबाट चर्को मूल्य अशुल्ने गरेका छन् । नियमित अनुगमन नहुँदा अनुदानको मलमा सहकारीको मनपरी बढ्दो रहेको किसान बताउँछन् । ऐन भन्दा बाहिर गएर सहकारीले मल विक्री गरेको पाइएमा सहकारीको मल विक्री इजाजत खारेज हुने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार