दुर्गा डेरी उद्योगले गर्यो ६३ जना किसानलाई सम्मान, ६ महिनामा करीब दुई लाख लिटर दुध उत्पादन

  युद्धबहादुर बोहोरा
728 Shares

इलामः देउमाई नगरपालिका १ नम्बर वडास्थित मैदानेका ६३ जना पशुपालक कृषकले एक लाख ८२ हजार २१४ लिटर दुध उत्पादन गरेका छन् । ६ महिनामा उत्पादन गरेको दुधको तथ्याङ्कका आधारमा सोही वडामा संचालित दुर्गा डेरी उद्योगको आयोजना तथा कृषि ज्ञान केन्द्र इलामको सहयोगबाट किसानलाई सम्मान गरेको हो । कोसी प्रदेश सरकारबाट दुध उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम अन्तर्गत प्रतिलिटर दुई रुपैंयाका दरले रकम उपलब्ध गराएको छ । शनिवार सार्वजनिक सुनुवाई गर्दै जम्मा रकम तीन लाख ६४ हजार ४२८ रुपैंया वितरण गरिएको उद्योग संचालक केदार सिंह वस्नेतले जानकारी दिए । पाँच हजार लिटर भन्दा बढी दुध उत्पादन गर्ने संचालक बस्नेतसहित चार जना र अन्य ५९ जना किसानले त्यस भन्दा मुनि उत्पादन गरे तापनि जम्मा गरेको दुधको हिसाबले अनुदान पाएका छन् ।

केशव श्रेष्ठले पाँच हजार ५८० लिटर उत्पादन गरेर ११ हजार १६० रुपैंया पाएका छन् । चुडामणि बस्नेतले ६ हजार ५० लिटरको १२ हजार एक सय रुपैंया ,तारा बीर बस्नेतले १० हजार १०३ लिटर दुध उत्पादन गर्दे २० हजार २०६ रुपैंया  र उद्योग संचालक बस्नेतले १६ हजार ६८० लिटर उत्पादन गरेर ३३ हजार ३६० रुपैंया बराबरको अनुदान प्राप्त गरेका छन् । किसान प्रोत्साहन तथा सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष मीन राज श्रेष्ठ विशेष अतिथि वडासदस्य केशरबहादुर पौडेलले पशुपालन व्यावसायमा उत्साह जगाउँदै आधुनिक किसिमले उन्नत जातका गाई पालेर अनुदान रकम भित्र्याउन सफल बनेका उद्योग संचालक बस्नेतलगायत सबै किसानलाई धन्यवाद तथा शुभकामना दिंदै प्रशंसापत्र प्रदान गरेका थिए ।

चार वर्ष वैदेशिक रोजगारमा बसेर घर पर्किएपछि उद्योग संचालक  बस्नेतले शुरूमा दुईवटा गाईबाट पेशा थालेका थिए । उनका बुबा पहिल्यैदेखि गाईवस्तु पालनमा निक्कै चासो राख्ने र गाउँमा उन्नत जातका पशु भित्र्याउने उनको चाहानाबाट प्रेरित भएको कहानी उनले सुनाए । बस्नेत गाउँमै स्वरोजगार बन्ने उदेश्यले २०७६ सालमा उद्योग दर्ता गरी व्यावसाय संचालन गरे । यति बेला उनको फर्ममा २० वटाभन्दा बढी गाई छन् ।

दैनिक १५० लिटर दुध उत्पादन गर्दै आएको बताउँछन् । उनले डेरी उद्योग पनि दर्ता गरेका छन् । डेरीमा स्थानीय किसानले दैनिक दुध भर्ने र त्यसको मासिम रकम उनले घ्यू र छुर्पी बेचेर दिने गरेको बताए । डेरी र गाई फर्मको सबै खर्च कटाएर मासिक एक लाख रूपैंया आम्दानी हुने त्यसबाट परिवारमा घरखर्च र छोराछोरी पढाउन मनग्य पुग्ने  उनको भनाई छ । यस फर्मबाट उन्नत जातका गाई,बाछा,बाछी,ब्युको लागि गोरु पनि बिक्रि गर्ने गरेको उनले बताए । गोठ सुधार,गाईवस्तु खरिद र डेरी उद्योगका लागि सामाग्री खरिदमा उनले करीब ५० लाख लगानी गरेको जनाए ।  यस क्षेत्रका किसानहरु पहिल्यैदेखि पशुपालन व्यावसायमा लागरे  दुध उत्पादन गर्दै आएको थिए । तर, अहिले जस्तो नयाँ प्रविधिबाट घ्यू,छुर्पी बनाउने,घाँस,दाना,खानेकुरा र बजारीकरणमा उचित व्यवस्थापन नहुँदा किसानमा उत्साह थिएन । आजभोली उद्योग संचालक बस्नेतले यसै पेशाबाट घरमै आम्दानीको श्रोत जुटाउएर उदाहरणीय बन्न थालेपछि  उनी जस्तै यस गाउँमा अन्य युवाहरु पनि पेशामा आवद्ध हुन थालेको वडाध्यक्ष श्रेष्ठले बताए । बस्नेत एक सफल उद्यमीको रुपमा परिचित भएसंगै उनको फर्म हेर्न र पशुपालन सम्बन्धी अनुभव लिन आउनेहरु बढ्न थालेका छन् ।

पछिल्लो समय लम्पी स्किन रोगले  किसानका गाई विरामी हुने र मर्न थालेपछि आम्दानीको श्रोत गुम्ला कि भन्ने पिडा पनि उनीहरुलाई उत्तिकै छ । पशु चौपायका लागि आगामी नीति तथा कार्यक्रममा देउमाई नगरपालिकाले २५ लाख  रुपैंया उपचार खर्च विनियोजन गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । स्थानीय सरकारको क्षमताले भ्याएसम्म किसानको समस्यामा साथ दिने उनले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार