फाल्गुनन्द गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजिक,५४ करोड बजेट

  युद्धबहादुर बोहोरा
1.2k Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले गाउँसभाको १३ औं अधिवेशनबाट “समृद्ध फाल्गुनन्दः कृषि,पर्यटन,पुर्वधार र सुसंस्कृत समाज” भन्ने लक्ष्यका साथ समस्त पालिका बासीको समृद्धिको चाहानासहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

कृषि तथा पशुपंक्षी सम्बन्धी नीति तथा कार्यक्रममा वडा नम्बर १ देखि ७ सम्म क्रमशः मकै,किबी,आलु,अकबरे खोर्सानी,कोदो,कपास र सुन्तला पकेट क्षेत्रको रुपमा कृषिक्षेत्र निर्धारण भएको उल्लेख गरिएको छ । कृषिको माध्यमबाट पालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ व्यावसायिक उत्पादनलाई जोड दिन र कृषि पेसा मार्फत पालिकाका नागरिकलाई आत्मनिर्भरसहित स्वरोजगार बनाउने भएको छ ।

स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रममा जेष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति,गरीव तथा विपन्न जनसमुदायहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यलाई निरन्तरता दिइने जनाइएको छ ।नागरिकको पहुँच सुनिश्चित हुने गरी गाउँपालिका क्षेत्र भित्र चिकित्सकीय र प्रयोगशाला सेवा तथा अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्न आधारभुत अस्पताल, आधारभूत स्वास्थ्यकेन्द्र, स्वास्थ्य ईकाइ केन्द्र स्थापना तथा स्तरोन्नती गरी रोकथाम, निदान र पुनर्स्थापन सेवालाई  सहज र नियमित गर्ने नीति लिइएको छ । गाउँपालिकाबाट गरिब परिचय पत्र प्राप्त गरेका विपन् ,अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र एकल महिलाहरुको स्वास्थ जाँच र उपचारका लागि निजहरुलाई अस्पताल ल्याउन-लैजान लाग्ने एम्बुलेन्स सेवा वापत हुन आउने रकमको ५० प्रतिशत  गाउँपालिकाबाट उपलब्ध गराइने नीति बनाइएको छ । पशुपन्छीहरुको स्वास्थ्य उपचारको लागि रोग निदान प्रयोगशाला पशु उपचारका सामाग्री व्यवस्थापन पशुरोग सर्भिलेन्स निःशुल्क खोप सेवा तथा बाँझोपन निवारण शिविर कार्यक्रम मार्फत स्थलगत रुपमा प्राविधिक सेवा को व्यवस्था गरिने भएको छ ।

शिक्षा नियमावली,शिक्षा नीति, वहुभाषा शिक्षा निर्देशिका जस्ता कानुनी तथा नीतिगत व्यवस्था मार्फत शिक्षा क्षेत्रको गुणस्तर नियमन एवं प्रवर्द्धन गर्दै पालिकाको स्थानीय शिक्षा पाठ्यक्रम तर्जुमा गरी लागु गरिने भएको छ । शिक्षकहरुको ब्यावसायिक क्षमता विकासको लागि लगानी गरिने जनाइएको छ । अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक सामुदायिक विद्यालयहरुलाई पूर्वाधार तथा शिक्षक दरबन्दी लगायतका कार्यमा प्रोत्साहन दिई निजी विद्यालय सरह सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गरिने नीति लिएको छ ।

संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई श्रम ऐनले तोके बमोजिम न्यूनतम पारिश्रमिक उपलब्ध गराउने नीति कार्यान्वयन गरिने छ। जङ फुड मुक्त दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने छ ।शैक्षिक गुणस्तर कायम गर्न सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा मासिक अनुगमन  गरी गाउँ शिक्षा सुधार योजना तर्जुमालगायतका नीति बनाइएको छ । राजस्व तथा आन्तरिक श्रोत परिचालन नीति तथा कार्यक्रम करको दर सम्भव भएसम्म न्यूनतम गर्दै करको दायरा विस्तार गर्ने नीति लिइने र प्रगतिशील कर प्रणाली अवलम्बन गरी नागरिकहरु बिच रहेको असमानता न्यूनिकरण गर्दै लगिने भएको छ ।

भौतिक पूर्वाधार विकास तर्फ फाल्गुनन्द गाउँपालिकाका सेवाग्राहीहरुको सिंहदरबारको रुपमा रहने प्रशासकीयक भवनको निर्माण कार्य यस आ.व. बाट सुरु गरिने भएको छ ।  सुकुम्वासीहरुको वैज्ञानिक व्यवस्थापन दीर्घकालिन लगानी मार्ग दर्शनका लागि गाउँपालिका सडक गुरुयोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ । वातावरण,जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन तर्फ विपद् जोखिम नक्साङ्कन गरी सोही आधारमा विशिष्ट प्रकृतिका विपद् जोखिम प्रतिकार्य तथा पुनर्उत्थान कार्यक्रमहरु संचालन गरिने भएको छ । खानेपानी तथा सरसफाइको सेवालाई प्रभावकारी वनाउन प्रारम्भिक स्मार्ट वाटर सिस्टम लागु गर्दै जथाभावी फोहोर फाल्ने र फोहोर गर्ने व्यक्तिलाई जरिवाना तथा अन्य दण्ड सजाय गर्ने नीति लिइएको छ ।

सुशासन,सार्वजनिक सेवा तथा क्षमता विकास सम्बन्धी नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका नागरिकहरुको गुनासो तथा सेवा सम्बन्धी जिज्ञासा सुन्ने र सो को सम्बोधन अनलाईन प्रणाली कै माध्यमबाट सुनुवाई गर्ने गरी नागरिक गुनासो ब्यवस्थापन प्रणाली  तयार गरी लागु गरिने नीति बनाइएको छ । न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन सम्बन्धी नीति तथा कार्यक्रम सभाबाट हालसम्म निर्माण भएका ऐन कानूनहरुलाई संकलन गरी स्थानीय कानून संग्रह प्रकाशन गरिनेछ । सूचना तथा संचार सम्बन्धी नीति तथा कार्यक्रममा विज्ञापन तथा सूचनामा स्थानीय संचार संस्थाहरुलाई प्राथमिकता दिइने भएको छ । पालिकाका सम्पुर्ण गतिविधीहरुलाइ नियमित रुपमा गाउँपालिकाको वेभसाइट तथा फेसबुक पेजमार्फत (श्रब्य र दृष्य सामाग्रीहरु) नियमित सम्प्रेशण गरिनेछ । वर्षभरीका गाउँपालिकाका उपलब्धीहरुलाइ फाल्गुनन्द टाइम्स पत्रिका मार्फत प्रकाशन गरिने र

जिल्लाका पत्रकाहरुको क्षमता विकासको लागि पत्रकार महासंघ र पेशागत संघ संगठन संग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्दै । नागरिकहरुको सूचनाको हकको सम्मान र गाउँपालिकालाई सूचना मैत्रि बनाइने भएको छ । सहकारी सम्बन्धी नीति तथा कार्यक्रममा सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवर्द्धन गर्दै निच्छेप कर्ताहरुको हित संरक्षणका लागि अनुगमनलाई प्रभावकारी बनाइने भएको छ ।

उद्योग तथा पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको प्रचार प्रसारका लागि डकुमेन्ट्री निर्माण प्रसारण र व्रोशर हरुको वितरण गरिनेछ। उद्योग व्यवसाय दर्ता, नविकरण, स्थानान्तरण तथा नामसारी जस्ता प्रशासनिक प्रकृयालाई सूचना प्रविधिको प्रयोग गरी सरलीकरण र प्रभावकारी बनाइने नीति लिइएको छ । आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रममा स्थानीय आर्थिक विकास सम्वाद मञ्च गठन गरिने भएको छ । सम्पुर्ण सुत्केरी महिलालाई जिल्ला अस्पताल पाँचथरसम्मको एकोहोरो एम्बुलेन्स भाडा गाउँपालिकाले प्रदान गर्ने भएको छ । लैङ्गिक ज्येष्ठ नागरिक परिचयपत्र वडास्तरबाट नै उपलब्ध गराउने व्यवस्था मिलाउने । पालिकालाई सडक मानव मुक्त गाउँपालिका बनाइने,वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिकाको स्थानीय आर्थिक विकास योजना अन्तर्गत समावेश भएका नवप्रवर्तनशील,लगायतका प्रोत्साहनमुखी कार्यक्रमसंग आवद्ध गरिने भएको छ । अध्यक्ष भलिबल कप प्रतियोगीतालाई निरन्तरत दिइने भएको छ ।

फाल्गुनन्द गाउँपालिकाको आर्थिक वर्ष ०८०÷०८१ का लागि ५४ करोड ४९ लाख ४१ हजार चार सय रुपैयाँ बजेट सार्वजनिक 

पालिकाको गाउँसभाको १३ अधिवेशनमा पालिका उपाध्यक्ष ठाकुर सिं नेम्बाङले संचित कोषमा आम्दानीको श्रोतसहित वार्षिक बजेट प्रस्तुत गरेका छन् । उक्त बजेटमा नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान ९ करोड ८८ लाख,राजश्व बाँडफाँड ८ करोड ५८ लाख ३३ हजार चारसय,प्रदेश सरकार समानीकरण अनुदान ६० लाख ४७ हजार,राजश्व बाँडफाँड ३६ लाख ६२ हजार,आन्तरिक श्रोत ५५ लाख ५० हजार र छालि आ.व. को अल्या १ करोड ५० लाख गरी २१ करोड ४८ लाख ९२ हजार चारसय छ भने,शशर्त अनुदान नेपाल सरकारबाट २८ करोड ९३ लाख,शशर्त अनुदान प्रदेश सरकारबाट १ करोड ८२ लाख,समपुरक अनुदान नेपाल सरकारबाट ५० लाख,समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड,विशेष अनुदान नेपाल सरकारबाट ७५  लाखसहित जम्मा ५४ करोड ४९ लाख ४१ हजार चार सय रुपैयाँ रहेको छ ।

यसैगरी,संचित  कोषबाट विनियिजन हुने रकम गाउँकार्यपालिकामा  १८ करोड ८३ लाख ९२ हजार चारसय,वडा विकाश कार्यक्रममा २ करोड ६५ लाख,चालु खर्चमा शशर्त अनुदान नेपाल सरकारबाट २४ करोड ६५ लाख,पूँजीगत खर्च ४ करोड २८ लाख़,चालु खर्चमा शशर्त अनुदान प्रदेश सरकारबाट ५८ लाख सात हजार र पूँजीगत खर्च १ करोड २४ लाख़ ४२ हजार,विशेष अनुदान नेपाल सरकारबाट ७५ लाख समपुरक अनुदान नेपाल सरकारबाट ५० लाख र समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड बिनियोजन भएको उपाध्यक्ष नेम्बाङले सार्वजानिक गरे ।

लेखा समितिका संयोजक बिष्णु कुमार चेम्जोङले चालु आवमा ०७९/८० जेठ मसान्तसम्म पूँजीगत खर्च र चालु खर्च गरी ५५.३१ प्रतिशत खर्च भएको प्रतिवेदन सार्वजनिक गरेका थिए । प्रतिवेदनमा आन्तरीक आय ५५ लाख अनुमान गरिएको भएता पनि १३ लाख ३८ हजार ६६६ रुपैंया ४० पैसा घटी  आम्दानी गरेको विवरण प्रस्तुत गरेका छन् । ०७८/७९ को महालेख परीक्षकको अन्तिम प्रतिवेदनबाट १२ लाख ७३ हजार रुपैंयाअसुल गर्नु पर्ने,७९ लाख ९८ हजार अनियमित भएको र प्रमाण कागजात पेश नभएको ३ करोड ६९ लाख ८६ हजार गरी जम्मा ४ करोड ४९ लाख ८५ हजार बेरुजु औँल्याइएको उनले जानकारी गराए । पालिकाले वित्तीय जोखिम न्युनीकरण कार्य योजनाको पहिलो पाँच सुचकमा ६३.५ प्रतिशत अंक प्राप्त गरेको छ भने,कार्यालयको वार्षिक स्वमुल्याङ्कन प्रतिवेदनका १० वटा सुचकमा ७१.२५ प्रतिशत अंक प्राप्त गरेको विवरण प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार