पाँचथरः नेपाल शिक्षक महासंघका फाल्गुनन्द गाउँपालिका स्तरीय कार्यसमितिले पेशागत हकहित र शैक्षिक सुधारसंग सम्बन्धीत १४ बुँदे ध्यानकर्षणपत्र फाल्गुनन्दमा बुझाएको छ । विभिन्न पेसागत संघसंगठनहरुको छाता संघ केहीदिन अघि दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि पहिलो बैठकले निर्णय गरे लगत्तै विभिन्न मागसहितको ध्यानकर्षणपत्र महासंघले आइतवार पालिका कार्यालयमा बुझाएको हो । आगामी आथिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै लिखित सुझाव पेश गर्न पालिकाले सबै सरोकारवालाहरुलाई सुचना सार्वजनिक गरेको थियो । यसै सुचनालाई आधार मान्दै सुझावसहितको मागपत्र उपाध्यक्ष हिमाल नेम्बाङले वाचन गरेर सुनाएपछि महासंघको टिमले पालिका अध्यक्ष बृजहाङ आङ्देम्वे,उपाध्यक्ष ठाकुर सिं नेम्वाङ र प्रशासकिय अधिकृत निर्मल तुम्रोकलाई हस्तान्तरण गरेको महासंघ पालिका अध्यक्ष बीर नरसिं चेम्जोङले जानकारी दिए । यसै अवसरमा विभिन्न पेसागत संघसंगठनहरुको छाता संघ नेपाल शिक्षक महासंघको नवनिर्वाचित नयाँ कार्यसमितिलाई पालिकाले कार्यकालको शुभकामना दिंदै स्वागत गरेको छ ।
सुझावसहित माग गरेका बुँदाहरुमा विद्यालय कर्मचारी, भाषा शिक्षक तथा स्वयंसेवकको सेवासुविधा वृद्धि, दरबन्दी मिलान गर्दा विद्यार्थी ,भूगोल, शैक्षिक गुणस्तरलाई ध्यानमा राखी आवश्यक दरबन्दी मिलान गर्न र तलव भत्ता मासिक उपलब्ध गराउन माग गरेको छ । विद्यार्थीको दिवा खाजा खर्च रकम वृद्धि, हरेक महिना विद्यालय अनुगमन,सल्लाह र सुझाव दिनु पर्ने ठहर गरेको छ । राम्रो काम र खराबको मुल्याङ्कन गरी पुरस्कृत र दण्डको व्यवस्था गर्दै ५ कक्षालाई पालिका स्तरीय परीक्षा गर्न साथै राष्ट्रपति रनिङ्ग शिल्डको रकम वृद्धि,शैक्षिक क्षेत्रका सरोकारवालालाई क्षमता विकाशको तालिमको व्यवस्था गर्न पत्रमा उल्लेख गरेको छ । माध्यमिक विद्यालयमा सेनेटरी प्याड डिस्पोज गर्ने मेशीनको व्यवस्था गर्न,पालिका भित्र रहेका परिवारमा क्षमतावान,जेहेन्दार र मेहनती विद्यार्थीले एमवीवीएस वा इन्जिनियर पढ्न इच्छा गरे तापनि निम्न आर्थिक अवस्थाका कारण अवसर नपाएकालाई छात्राबृद्धिको व्यवस्था गर्न माग गरेको छ ।
यसैगरी, विस्थापित शिक्षकलाई पुनः व्यवस्थापन गर्न,शिक्षा नियामावलीमा उल्लेख भए अनुसार पालिकाको शिक्षा समितिमा महासंघको प्रतिनिधि बोलाउन र प्रारम्भिक कक्षादेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालयहरुलाई प्रोत्साहनको व्यवस्था गर्न सुझाव गरेको छ । उक्त पत्र ग्रहणपछि पालिका अध्यक्ष आङ्देम्बेले शैक्षिक क्षेत्रको सुधारमा हाल पालिकाले चालेको कदमसंग महासंघका माग र सुझापनि मेल खाएको बताउँदै सरोकारवालालाई धन्यवाद दिए । सकेसम्म माग र सुझावहरु आगामी नीति तथा कार्यक्रममा पूर्ण नभएता पनि आंशिक रुपमा समावेश गर्न पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।