काठमाण्डौंः पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्ला भइ वग्ने नदी र खोलामा बाढी आउने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्लामा आज बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो ।
महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ।
महाशाखाका अनुसार आज र भोलि (सोमवार) र पर्सि (मंगलवार) तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ ।
यो पनि
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।
घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले बताउनु भएको छ ।
यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङको दोभानमा ५ वटा घर पहिरोको जोखिममा परेको स्थानीय जयप्रसाद भट्टराईले बताउनु भएको छ । ताप्लेजुङका ९ वटा पालिकामध्ये धरै गाउँपालिका केन्द्रमा पहिरोले क्षति पुर्याएको छ ।
क्षतिको सम्पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।-नयाँसमाचार नेपाल