याङवरकले चुम्यो फाल्गुनन्द गाउँपालिका अध्यक्षकपको उपाधी

  युद्धबहादुर बोहोरा
371 Shares

 पाँचथरः प्रथम आमन्त्रित फाल्गुनन्द गाउँपालिका अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधी याङवरक गाउँपालिकाले चुमेको छ । फाइनल खेलमा आयोजक फाल्गुनन्दलाई ३-० को सोझो सेटमा हराउँदै नगद एक लाख १२ हजार रुपैंया,ट्रफी मेडल र प्रमाणपत्रसहित पहिलो बिजेता बन्न सफल भएको हो । दोस्रो हुने आयोजक टिमले ५५ हजार रुपैंया,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो हुने फालेलुङलाई २५ हजार,ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक टंक परियारले जानकारी दिए । जिल्ला बाहिरबाट इलाम नगरपालिका र फाकफोकथुम गाउँपालिकाका टिम समेत सहभागी रहेको खेल जेष्ठ ३१ गतेदेखि घुर्बिसे पञ्चमीको खेल मैदानमा संचालन भएको थियो । अन्तरपालिका स्तरीय अध्यक्ष खुल्ला पुरुष नकआउट भलिवल प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सेमीफाइनल खेलमा फालेलुङलाई आयोजक फाल्गुनन्दले ३-१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने,याङवरकले मिक्लाजुङलाई पनि ३-१ को सेटमानै पराजित गर्दै फाइनलमा पुगेको हो । तेस्रो स्थानका लागि मिक्लाजुङलाई ३-२ को सेटमा फालेलुङले हराएको थियो ।

विधागत तर्फ बेष्ट सेटर बिजेता टिमका क्रिसन न्यौपाने र बेष्ट प्लेयर बबिन चौहानले पाए । बेष्ट लिबेरो आयोजक टिमका वसन्त लिम्बु र बेष्ट स्पाइकर देवेन्द्र चेम्जोङ घोषित भए । बेट्ष प्लेयरलाई नगद पाँच हजार र अन्य उत्कृष्टलाई दुई हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । खेल सम्पन्नपछि पुरस्कार वितरणसंगै पालिका भित्रका १५ जना पूर्व खेलाडीलाई सम्मान गरिएको छ । यसैगरी,खेल संचालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रादेशिक भलिबल रेफ्रीद्वय योगेन्द्र सुवेदी र निलिमा आङदेम्बेलाई सम्मान गरिएको जनाइएको छ । प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुने टिमका सबै खेलाडी साथै सहभागी टिमका कोच र व्यवस्थापकलाई पनि सम्मान गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

सहभागी टिमका सवै स्थानीयतहलाई आयोजक पालिकाले कदरपत्र प्रदान गरेको छ भने खेलाडीलाई जर्सी सौजन्य गर्ने जेट्ली सिंगर हार्डवेयर राँकेलाई कदरपत्रसहित सम्मान गरिएको छ। पुरस्कृत हुने खेलाडी र सबै सहभागीहरुलाई प्रमुख अथिति पालिका अध्यक्ष बृज हाङ आङ्देम्बे,उपाध्यक्ष ठाकुर सिं नेम्बाङ र  प्रमुख प्रशासकिय अधिकृत तुम्रोकले पुरस्कार हस्तान्तरण गर्दै बधाई तथा थप प्रगतिको शुभकामना दिए । समापनमा प्रशासन शाखा प्रमुख निर्मल अधिकारी,लेखा शाखा प्रमुख चन्द्र योङहाङ,वडा नम्बर २,३ र ५ का अध्यक्ष सन्तोष कुमार नेम्बाङ,सुखबीर नेम्बाङ,बिष्णुकुमार चेम्जोङलगायत पालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारी र खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

यस पालिकाले बुद्धिचाल(चेस),ब्याडमिन्टन,फुटबल,भलिबललगातयका विभिन्न खेलहरु आयोजन र खेलाडीहरुलाई सम्मान गर्दै आएको छ । यसैपालिकाबाट अण्डर-१७ को महिला फुटबल टिममा राष्ट्रिय स्तरको खेलाडीसमेत उत्पादन भइसकेको छ ।  खेल जगतमा पालिकाको इज्जतलाई राष्ट्र र अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल बनेकी वडा नम्बर ५ निवासी पुनम चेम्जोङलाई यसअघि ५० हजार नगदसहित पुरस्कृत गरिसकेको छ ।

आगामी दिनमा अध्यक्षकप प्रतियोगिता थप व्यवस्थित बनाई निरन्तर संचालन गरिने पालिका अध्यक्ष आङ्देम्बे र उपाध्यक्ष नेम्बाङले प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार