पाँचथरः पाँचथरको जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगितामा प्रशान्तदास चेम्जोङ विजेता बनेका छन् । उनले चार दशमलव पाँच अंकका साथ १४ दशमलव पाँच बुखोल्स प्राप्त गर्दै नगद १५ हजार,ट्रफी र प्रमाणपत्र पाएका छन् । फाल्गुनन्द ४ निवासी खेलाडी चेम्जोङ यसअघि भएको प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरे थिए । उनी राष्ट्रिय बुद्धिचाल खेलाडीका रुपमा परिचित छन् । उपविजेता फिदिम नगरपालिका वडा नम्बर ९ निवासी गगन लावती भए । चार दशमलव पाँच अंकसंगै १३ दशमलव पाँच बुखोल्स प्राप्त गर्दै नगद १० हजार,ट्रफी र प्रमाणपत्र पाएका छन् । उनी पाँचथरका पूर्वचेम्पियन हुन् । फिदिम नगरपालिका १ का युवा खेलाडी विसन थापाले पनि चार दशमलव पाँच अंक र १२ दशमलव पाँच बुखोल्स प्राप्त गर्दै तेस्रो स्थान हाँसिल गरेर नगद ७ हजार पाँच सय,ट्रफी र प्रमाणपत्र पाउन सफल बने ।
यसैगरी,चौथोदेखि आठौं स्थानसम्म क्रमशः महेन्द्र कुमार सम्बाहाम्फे,नन्द कुमार कुरुम्बाङ,सूर्य प्रसाद लावती,जयबहादुर तामाङ,बिजय बोधलावतीले चार हजारका दरले नगद पुरस्कारसहित प्रमाणपत्र ग्रहण गरेका छन् भने जयप्रकाश नेम्बाङ फाल्गुनन्द च्याम्पियन बन्दै नगद पाँच हजार र प्रमाणपत्र पाए । चार हजार नगद र प्रमाणपत्रसहित फाल्गुनन्दकी सेसेना चेम्जोङ महिला च्याम्पियन बनेकी छिन् । भेट्रान र अण्डर १६ तर्फ मिक्लाजुङका तेजबहादुर लावती र गौरवहाङ लावतीले चार-चार हजार रूपैंयासहित प्रमाणपत्र प्राप्त गरे ।
जिल्लाको दक्षिणी भेगका स्थानीयतहबाट ५२ जना पुरुष तथा महिला खेलाडीहरुको प्रतियोगितामा सहभागीता रहेको संघका सचिव नन्द कुरुम्बाङले जानकारी दिए । पाँचथर बुद्धिचाल संघको आयोजना शुक्रबारदेखि संचालन भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । दुई दिनसम्म भएको उक्त प्रतियोगिता स्वीस लिगको आधारमा पाँच राउण्ड खेल संचालन भएको बुद्धिचाल संघ,नेपाल कोसी प्रदेश अध्यक्ष तथा आरविटर सुरेन्दर कुमार राईले बताए । राष्ट्रिय,प्रदेश,जिल्ला र स्थानीय स्तरका खेलाडीहरुको उत्साहजनक सहभागीतामा सम्पन्न भएको प्रतियोगिता संचालन गर्न फाल्गुनन्द गाउँपालिकाले आर्थिक सहयोग गरेको आयोजक संस्थाले जानकारी दिएको छ । घुर्बिसे पञ्चमीस्थित पालिकाको सभाहलमा समापन गरिएको कार्यक्रम संघका जिल्ला अध्यक्ष विजयबोध लावतीको अध्यक्षतामा फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष ठाकुर सिं नेम्बाङ र प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकको आतिथ्यतामा भएको थियो । पुरस्कार वितरण कार्यक्रम अतिथिले उपाधि जित्न सफल खेलाडीलाई थप प्रगतिको शुभकामनासहित मन्तव्य राखेका थिए । आजभोलिका बालबच्चाहरु मोबाइल र कम्प्युटरमा मात्रै आकर्षण हुँदै गएकाले उनीहरुको ध्यानलाई समेत डाइवर्ट गर्ने मद्दत पुगोस् र ओझेलमा पर्दै गएको बुद्धिचाल खेललाई प्रोत्साहन गर्ने उदेश्यले जिल्लाकै पहिलो पटक स्थानीय तहले बजेट विनियोजन गरेर खेल खेलाउने वातावरण तय गरेको नेम्बाङ र तुम्रोकले जानकारी गराए । खेल आयोजनाले खेलाडीहरु उत्पादन हुने र खेल जगतलाई समेत सम्मान मिल्ने अपेक्षा गरिएको उनीहरुको भनाइ छ ।
समापनमा संघका जिल्ला र प्रदेश अध्यक्षद्वयले बुद्धिचाल खेलका लागि पालिकाले बजेट विनियोजन गरी खेलाडीलाई उर्जा प्रदान गरेकोमा धन्यवाद दिए । खेल संचालनमा सहयोग पुर्याउनुहुने शुभेच्छुक तथा सहयोगीहरुलाई मायाको चिनो प्रदान गरिएको थयो।