जनकल्याण माविमा अक्षयकोष थपिन्दै, १३ लाख पुग्यो रकम

  युद्धबहादुर बोहोरा
1.2k Shares

पाँचथरः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुर्याउन फाल्गुनन्द गाउँपालिकाका विभिन्न विद्यालयमा अक्षयकोष स्थापना गर्ने दाताहरुको लहर बढ्न थालेको छ । कतिपय ठाउँमा बालबालिको पढाई राम्रो भएन भनेर सामुदायिक विद्यालयलाई दोष लगाउँदै निजी विद्यालयमा छोराछोरी पढाउन लैजाने चलन मौलाएको छ । तर, यस पालिकामा भने सामुदायिक विद्यालयलाई सबल बनाउन सरकारको मात्रै मुख ताक्नु नहुने बताउँदै हाल गाउँघर बाहिर रहेता पनि आफ्नो फुर्ख्यौली ठाउँको उन्नतीमा धेरै परिवार र शुभचिन्तक जुटेका छन् । सबैको जिम्वेवारी उत्तिकै रहेको भन्दै हरेक कुरामा सामुदायिक विद्यालालाई साथ दिनुपर्ने बताउँछन् अक्षयकोष दाताहरु ।

यसैबीच,विद्यालयको शैक्षिक उन्नतीमा उर्जा प्रदान गर्ने उदेश्यले वुधबार फाल्गुनन्द ५ मा २०२३ सालमा स्थापना भएको जनकल्याण माध्यमिक विद्यालय फाक्तेप,कोल्बुङमा चार लाख रकमको ‘स्व.मनबहादुर चेम्जोङ स्मृती अक्षयकोष २०८०’ स्थापना गर्दै रकम हस्तान्तरण गरिएको छ । १९७४ साल असार २३ गते खमनन्द चेम्जोङ र देशरानी नेम्बाङ(चेम्जोङ्)को कोखबाट जन्मिएर २०५४ साल वैशाख २० गते ८० वर्षको उमेरमा देहावसान भएका स्थानीय समाजसेवी स्व. मनबहादुर चेम्जोङको स्मृतीमा परिवारका सदस्यले उक्त कोष खडा गरेका हुन् । स्थानीय समाजसेवी,राजनितिज्ञ तथा यस विद्यालयका संस्थापक स्व.सुवासचन्द्र चेम्जोङसंगै सहकार्य गर्दै उनले पनि शैक्षिक क्षेत्रमा योगदान पुर्याएका थिए । यो संगै यस विद्यालयमा जम्मा चारवटा अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानध्यापक पूर्ण कुमार सदेम्बाले जानकारी दिए । हाल अक्षयकोषमा जम्मा भएको रकम १३ लाख पाँच हजार पुगेको उनले बताए । उक्त कार्यक्रममा मुलसमिति सचिव भेषराज चेम्जोङले अग्रज पुर्खाले गरेको सम्मानजनक कामको चिरस्मरणका लागि अगामी दिनमा ट्रष्ट तथा प्रतिष्ठानको रुपमा विकास गर्दै शैक्षिक क्षेत्रसंगै समाजसेवाका काममा पनि लगानी गर्ने उदेश्य र औचित्यसहित अक्षयकोष स्थापना बारे प्रकाश पारेका थिए ।

अक्षयकोष हस्तान्तरण समारोह फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यता र विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्कबहादुर चेम्जोङको अध्यक्षता साथै ५ नम्बरका वडाध्यक्ष बिष्णुकुमार चेम्जोङको विशेष आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि आङ्देम्बेले सहयोगी दाताहरुलाई धन्यवाद दिंदै सकारात्मक भावनाको मानिसले मात्रै शैक्षिक क्षेत्रमा सहयोग गर्ने र समाजको अगुवाई गर्न सक्ने बताए । समाज रुपान्तरणमा शिक्षाको महत्पूर्ण भूमिका हुने हुँदा यस क्षेत्रमा सहयोगी गर्ने परिवारका हरेक सन्ततीको सदैव प्रगतिको भइरहने उदाहरणसहित मन्तव्य राखे । आगामी दिनमा भौतिक संरचना निर्माणमा मात्रै प्रथामिकता नदिई गुणस्तरीय पठनपाठन गर्दै उदाहरणीय पालिका निर्माणमा सहयोग पुर्याउन पालिकाक सवै शिक्षक,विद्यार्थी र अभिभावक र सरोकारवालालाई उनले आग्रह गरे । यस विद्यालयमा एकसय रुपैंया जागीरबाट २०२९ सालदेखि २०६८ सालसम्म ३९ वर्ष शिक्षण पेशा गरि अवकाश भएका पूर्वप्रधानध्यापक मनोरथ अधिकारीले विद्यालयको इतिहाँस र वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै स्मारिका निर्माण गर्न सुझाबसहित शुभकामना दिए । पूर्वशिक्षक डीगम्बिर नेम्बाङ,पार्टीप्रतिनिधि मणिचन्द्र चेम्जोङ,विनोद आङ्देम्बे,बलीराज चेम्जोङलगायतले शुभकामना  मन्तव्य राखेमा थिए । शिक्षक अम्बिका प्रसाद साप्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

उक्त अवसरमा पूर्वविव्यस अध्यक्ष एवं अक्षयकोष परिवारका अग्रज पञ्चबीर चेम्जोङ,पूर्व वडाध्यक्ष सूर्य बिक्रम चेम्जोङलगायतका परिवारले गरेको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको थियो । हाल नर्सरी,एलकेजी,युकेजी हुँदै ६ कक्षासम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको यस विद्यालयमा १२ कक्षासम्म २५० जना विद्यार्थी ,२२ जना शिक्षक स्टाफ छन् । बोर्डिंङ स्कुर सरह संचालन गरिएको यस विद्यालयमा चार जना निजी श्रोतमा शिक्षक राखिएको छ भने शनिबार वाहेक सबै सार्वजानिक बिदामा समेत पठनपाठन गरिन्दै आएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार