चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले पाँचौ पटकको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार चुलाचुली २ नं. वडा कार्यालय बाह्रगोठेमा सम्पन्न गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र २ नं. वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने तयारी गरेको चुलाचुलीले २ नं. वडा कार्यालय बाह्रगोठेमा पाँचौ पटक सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।
‘जनतासँग अध्यक्ष कार्यक्रम’ अन्तरतगत चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ५० बढीको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा १३ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका उपाध्यक्ष दिलु योङहाङ लावती, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, कृषि शाखा प्रमुख अनिल तिमल्सिना, वडा अध्यक्ष लक्ष्मण श्रेष्ठलगायतले दिएका थिए ।
उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । सेवाग्राहीको सुझावलाई आगामी नीति, कार्यक्रम र योजनामा समेट्दै लैजाने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उदेश्यसहित स्वागत वडा सचिव निर्मला घिमिरे र वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी जानकारी वडा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले २८ जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३२ जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले चुलाचुली गाउँपालिकाले वडासत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिरहेको छ ।
बाँकी वडा नं. ४ र गाउँपालिकामा समेत चाँडै सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिने गाउँपालिकाले जनाएको छ ।