लिम्बू भाषा पढाउँदै फाकफोकथुमको जनकल्याण माध्यमिक विद्यालय

  राम योङहाङ  488 पटक हेरिएको

इलाम : इलामको फाकफोकथुम गाउँपालिका-७, दोकानडाँडास्थित जनकल्याण माध्यमिक विद्यालयले ऐच्छिक विषयका रुपमा मातृभाषा शिक्षा (लिम्बू भाषा) अध्यापन गराउने भएको छ ।

मातृभाषाको संरक्षण गर्दै विद्यार्थीलाई भाषाको विकास गराउने उदेश्यले मातृभाषा शिक्षा अध्यापन गराउने तयारी गरेको हो ।

लिम्बू विद्यार्थीको बाहुल्य रहेको सो विद्यालयमा आधारभूत तह कक्षा १ देखि ५ सम्म ऐच्छिक विषयमा रुपमा लिम्बू भाषा अध्यापन गराउने तयारी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन योङहाङले जानकारी दिए ।

सो विद्यालयमा यो शैक्षिक सत्रमा कक्षा १ देखि ५ सम्म हालसम्म ४३ जना  विद्यार्थी भर्ना भएका छन् । जसमध्ये ३२ जना लिम्बू र ११ जना अन्य समुदायका विद्यार्थी छन् । अन्यमा छ जना क्षेत्री, दूई जना मगर, दुई जना भुजेल र एक जना ब्राह्मण समुदायका विद्यार्थी रहेका छन् ।

सो विद्यालयमा लिम्बू भाषाको पाठ्यपुस्तक आनीपान (हाम्रो भाषा) अध्यापन गराउने तयारी गरेको अध्यक्ष योङहाङले जानकारी दिए । लिम्बू भाषा अध्यापनका लागि छुट्टै शिक्षकको व्यवस्थापन नभएसम्म विद्यालयमा रहेको जनशक्ति नै परिचालन गरिने योङहाङले बताए ।

‘हाम्रो विद्यालयम लिम्बू भाषा अध्यापन गर्नका लागि छुट्टै शिक्षकको व्यवस्था त छैन । तत्कालनका लागि हाम्रो विद्यालयमा कार्यरत ३/४ जना लिम्बू शिक्षकहरु मातृभाषामा दक्ष हुनुहुन्छ । उहाँहरुलाई नै परिचालन गराईनेछ’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष योङहाङले भने, ‘पछिका लागि हामीले गाउँपालिकामा मातृभाषा शिक्षक अनुदान कोटा माग गरेका छौं । गाउँपालिकाबाट व्यवस्थापन हुने आशामा छौं ।’

विगतमा समेत केही वर्ष लिम्बू भाषा पठनपाठन गराइएको सो विद्यालयमा भाषा शिक्षकको अभावमा बन्द भएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार