भित्तेपत्रिका लेखनमा विद्यार्थीको रुचि, फाल्गुनन्दका २२ जनाले लिए प्रशिक्षण

  युद्धबहादुर बोहोरा  278 पटक हेरिएको

पाँचथरः सिर्जना,लेख र रचनात्मकता भावन प्रस्तुत गर्ने माध्यमको रुपमा परिचित भित्तेपत्रिका आजभोली लोप हुँदै गएको छ । डिजिटल प्रविधिको विकाससंगै पछिल्लो समय हस्तलिखित सुचनामुलक सामाग्री ओझेलमा पर्न थालेपछि फाल्गुनन्द गाउँपालिकामा भित्तेपत्रिका लेखन तालिम संचालन गरिएको छ । विद्यार्थीको लेखन प्रतिभालाई बढावा दिन,सिर्जनशीलता विकास गर्न,रचनात्मक बनाउन, साहित्य र पत्रिकामा रुचि जगाउने उद्देश्यका साथ पालिका भित्रका ११ वडा सामुदायिक विद्यालयबाट माद्यमिक तहका २२ जना विद्यार्थीलाई तीन दिने तालिम  गराइएको हो ।

पालिकाको सहयोगमा माङ्गेन्ना मिडिया प्रालि फिदिमको सहजीकरणमा भित्तेपत्रिका के हो?यसमा के कस्ता विषय समावेश गरिन्छ ?किन प्रकाशन गर्ने ?प्रकाशनले के फाइदा मिल्छ,समाचार भनेको के हो ?समाचारको संरचना, सञ्चारका किसिम,पत्रकार पत्रकारिता,समाचारको बनोट, भित्तेपत्रिकामा गरिने सजावट,डिजाइन लगायतका विषयमा सहजकर्ता विजयबोध लावतीले प्रशिक्षण गराएको आयोजक संस्थाका प्रतिनिधि भिम चेम्जोङले जानकारी दिए ।माध्यामिक विद्यालयका विद्यार्थीसंगै प्रत्येक विद्यालयबाट एक-एक जना संरक्षक शिक्षक सहभागी रहेको तालिममा प्रशिक्षक लावतीले लेखन कलालाई फेलोसिप उपलब्ध गराएर नियमित गर्न सके प्रभावकारी हुने बताए ।

संस्थाका अध्यक्ष सन्देश सुब्बाको अध्यक्षतामा सोमबार सम्पन्न तालिमको समापनमा प्रमुख अतिथि पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे,विशेष अतिथि उपाध्यक्ष ठाकुरसिं नेम्वाङ,५ नम्बर वडाका अध्यक्ष बिष्णु कुमार चेम्जोङको विशेष आतिथ्यता रहेको थियो । समापनको क्रममा सहभागी र अतिथिले भित्तेपत्रिकाको प्रकाशनका विषयमा विचार व्यक्त गरेका थिए । तालिमबाट सृजनात्मक कलालाई प्रस्तुत गर्न र भित्तेपत्रिकामा प्रकाशित गर्नुपर्ने सामाग्रीहरु आफैं तयार गर्न सक्ने सिपको विकाससंगै रुचि रहेको  सहभागीले बताए । उनीहरुले कथा,कविता, चित्रकला, चुट्किला, सामान्यज्ञान, समाचार लगायतका विषयहरूलाई समेटेर तीन दिनमा सिकेका सामाग्री प्रकाशन गरेका थिए ।

तालिमपछि भित्तेपत्रिका मार्फत विद्यार्थीहरुले समाचारको रुपमा आफ्नो विद्यालय,पालिकाको गतिविधिहरु र समाजका नराम्रा पक्षलाई निरुत्साहित गर्दै राम्रो पक्षको समाजमा प्रचार गरेमा समृद्ध पालिका निर्माणमा टेवा पुग्ने भएकाले यस तर्फ विद्यालय परिवारले निरन्तरता दिन पालिका अध्यक्ष आङ्देम्बे र उपाध्यक्ष नेम्बाङले आग्रह गरे । उनीहरुले भित्तेपत्रिकाको बारेमा अनुभव बताउँदै अगामी दिनमा सिर्जनशीलता बढाउन,अभिप्रेरणा प्रदान गर्न, निगरानी गर्दे  पत्रिका प्रकाशनमा विद्यार्थीलाई प्रोत्साहनसहित कार्यक्रमहरु व्यवस्थित गरिने प्रतिवद्धता व्यक्त गरे ।

संयोगबस उक्त समापन कार्यक्रममा उपस्थित भएका रेडियो नेपालका पूर्व वरिष्ठ अधिकृत,बोर्ड सदस्य तथा फोनिज केन्द्रिय उपाध्यक्ष अमरध्वज लामाले  भित्तेपत्रिका कहाँ र कहिलेबाट शुरुवात भएको थियो साथै यसको महत्व बारे जानकारी गराउँदै दुई दशक भन्दा लामो पत्रकारिताको अनुभव सुनाएका थिए । तालिममा सिकेर प्रकाशन गरिएका सामाग्रीहरु जीवनमा गरिने हरेक पेशामा महत्पूर्ण अभिलेख तथा दस्तवेज बन्ने हुँदा सुरक्षितसाथ संरक्षण गर्न सहभागीलाई उनले सुझाव दिए । आफ्ना प्रतिभाहरू प्रस्तुत गर्न सहयोग पुग्ने,पढाइका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि आकर्षण बढ्ने र विद्यालय तहबाटै पत्रकारिताको अभ्यास तथा अनुभव गर्ने मिल्ने गरी पालिकाले गरेको लगानी उपलब्धीमुलक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार