पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ सिङहाङका पञ्च कुमार चेम्जोङको घरमा आगलागी भएको छ । आइतबार राती करीब ११:३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।
स्थानीयबासी र प्रहरीको प्रयासमा आगलागी नियन्त्रण गर्न कोशिस गरिएता पनि घरमा रहेको ग्याँस सिलिण्डर पड्किएपछि स्थिति भयाबहक बनेकाले घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको आगलागी पीडित चेम्जोङले जानकारी दिए ।
समाजसेवी एवं फाक्तेप युथ क्लबका अध्यक्षसमेत रहेका चेम्जोङको घर उत्तरे-यासोक रोडको सिङ्हाङ्मा पर्दछ । घरमा दुग्धडेरी र किराना व्यावसाय संचालन गर्दै आएका थिए । आगलागीबाट घरभित्र रहेको पसल,अन्नपात, भाँडाकुँडा, लत्ताकपडा,गरगहना,रुपैयाँ पैसासमेत जलेर नष्ट भएको छ । आगलागी के बाट कसरी भयो भन्ने अनुसन्धान भइरहेको फाक्तेप प्रहरी चौकीले जनाएको छ ।
कुनै मानवीय क्षति नभए पनि घरबासविहीन भएका अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार र सहयोगी संस्था लगायत सहयोगी निकायमा अनुरोध गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेसहितको उपस्थितिमा इलाका प्रहरी चौकी रवि,पाँचथर र फाक्तेप प्रहरी चौकीका प्रहरीबाट प्रारम्भिक मुचुल्का तयार गरिरहेको स्थानीय बासी केबी चेम्जोङले बताए ।