नक्कली शरणार्थी प्रकरणमा गिरोहका नाइकेहरुको बयान, उच्च राजनीतिक र प्रहरी नेतृत्व नै मुछिने खतरा

  नयाँ बुलन्द
0 Shares


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी भईरहँदा पक्राउ परेका १६ जना मध्ये गिरोहका मूख्य व्यक्तिहरुको बयान सार्वजनिक भएको छ ।

गिरोहका नाइकेहरुले प्रहरी समक्ष दिएको बयानले देशको उच्च राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्व नै नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको देखाएको हो ।

त्यति मात्रै होइन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म लेनदेनका अखडा बनेको देखिएको छ । विचौलियाहरुको बयानबाट पूर्व प्रधानमन्त्रीका स्वकीय सचिव, पूर्व उप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सरकारका सचिव, अख्तियारका वहालवाला प्रमुख आयुक्त र वहालवाला प्रहरी महानिरीक्षक समेतमाथि गम्भीर अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

नक्कली शरणार्थी प्रकरणका मूख्य नाइके भनिएका सानु भण्डारीको बयानमा सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको देखिएको छ । यस प्रकरणमा सबैभन्दा बढी रकम लिनेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार ईन्द्रजित राइ देखिएका छन् भने, त्यसपछि बढी रकम लिने थापाका पत्नी र छोरा देखिएका छन् ।

राइले साढे पाँच करोड र थापाका पत्नी र छोराले गरी पाँच करोड लिएको विचौलियाहरुको बयानमा देखिएको छ । यस्तै तत्कालीन गृह सचिव प्रेमकुमार राई, तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, ओलीका सल्लाहकार अजयक्रान्ति शाक्यलाई रकम बुझाएको विचौलियाहरुको बयानमा उल्लेख छ ।

गिरोहका मूख्य नाइके सानु भण्डारीले दिएको बयानमा थापाका सल्लाहकार इन्द्रजित राईले ५ करोड ५० लाख रुपैयाँ र उनका छोरा निरजले १ करोड ५० लाख रुपैयाँ बुझेको उल्लेख छ । यस्तै तत्कालीन गृह सचिव प्रेमकुमार राईलाई पनि इन्द्रजित राईमार्फत नै १ करोड रुपैयाँ दिएको भण्डारीको दाबी छ ।

यस्तै, रामबहादुर थापाका छोरा र पत्नीले पाँच करोड बुझेको दाबी पनि भण्डारीले गरेका छन् । थापा पत्नी नैनकलालाई मन्त्री क्वार्टरमै पुगेर तीन करोड बुझाएको, थापाका छोरा प्रतीकले पछि बाहिर रेष्टुराँमा थप एक करोड बुझेको र नैनकलालाई पनि थप एक करोड दिएको बयानमा उल्लेख छ ।

टोपबहादुर रायमाझी आफैँले १ करोड ६० लाख र छोरा सन्दीपको खातामा थप ४० लाख रुपैयाँ हालिदिएको बयानमा उल्लेख छ । यस्तै २०७६ साल असारमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जीसी मार्फत ओलीका स्वकीय सचिव राजेश वज्राचार्यलाई १ करोड रुपैयाँ प्रधानमन्त्री निवास बालुवाटारमै बुझाएको भण्डारीको दाबी छ ।

ओलीका सल्लाहकारद्वय अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले भने मन्त्री क्वार्टरमा १/१ करोड बुझेको दाबी छ । यस्तै तत्कालीन गृहमन्त्री खाँणलाई आफैँले ३० लाख दिएको र गृह सचिव पाण्डेमार्फत थप ८९ लाख ५० हजार रुपैयाँ दिएको पनि भण्डारीको बयानमा उल्लेख छ ।

तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले मन्त्रालय र सिंहदरबार परिसरमा रकम बुझेको र उनलाई पटक–पटक गरी १ करोड २४ लाख ५० हजार रुपैयाँ दिएको तथा उनका सुरक्षा गार्ड मार्फत २५ लाख दिएको पनि भण्डारीको दाबी छ । गिरोहका अर्का मूख्य व्यक्ति केशव दुलालले भने पछिल्लो पटक बयान फेरेर पहिले भन्दा फरक बयान दिएको प्रहरीले बताएको छ । पक्राउ परेपछि तत्कालिन गृहसचिव टेकनारायण पाण्डेले हिरासतबाटै बालकृष्ण खाँणका सहयोगी नरेन्द्र केसीलाई पत्र लेखी दुलालको बयान फेराउन सुझाव दिएको फेला परेको र त्यसपछि दुलाले पहिलेको भन्दा फरक बयान दिएको पनि प्रहरीले बताएको छ ।

तर, दुलालको मोबाइलमा रहेका सन्देश, ह्वाट्स् एप, भाइबरमा रहेका सन्देश तथा अडियो रेकर्ड भण्डारीको बयानसँग मिलेको प्रहरी स्रोतको भनाइ छ । यस्तै तत्कालिन गृहसचिव पाण्डेको बयानबाट भने तत्कालिन गृहमन्त्री खाँणले रकम बुझेको प्रष्ट हुने देखिएको छ । पाण्डेको बयानमा खाँणलाई मन्त्रालयमै आएर १ करोड २४ लाख ५० हजार रुपैयाँ दिएको उल्लेख छ ।

यस प्रकरणमा नेपाल प्रहरीका वहालवाला महानिरीक्षक बसन्त कुँवर समेत तानिने अवस्था देखिएको छ । प्रकरणको अनुसन्धानका क्रममा भेटिएका प्रमाणहरुले आइजिपी कुँवरले आफू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा गत वर्ष नै परेको उजुरीको अनुसन्धान गर्नुका सट्टा फाइल नै गायब बनाएको पाइएको छ ।

आइजीपी कुँवर पूर्वगृहमन्त्री खाँणलाई जोगाउन भरपुर प्रयासमा लागेको र पक्राउ परिसकेका तत्कालिन गृहसचिव पाण्डे मार्फत गिरोहका सदस्यहरूसँग समन्वय गराएको पनि खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार