संस्कृति जगेर्नामा अग्रसर बन्दै फाल्गुनन्द गाउँपालिका

३५ जना खसआर्यले लिए कर्मकाण्ड सम्बन्धी ज्ञान

  युद्धबहादुर बोहोरा
42 Shares

 

पाँचथर : संस्कार र संस्कृतिको जगेर्ना गर्न फाल्गुनन्द गाउँपालिका अग्रसर बन्दै गएको छ । भाषा,संस्कार र संस्कृति बाँचे समाज बाँच्छ भन्ने कथनलाई वास्तविकतामा पुष्टि गर्न पालिका भित्रका सबै जातीको सहअस्तित्वलाई सम्मान गर्ने उदेश्यले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

यसैबीच,पालिका भित्रका सबै वडालाई समेट्दै ३५ जना खसआर्यले कर्मकाण्ड प्रवर्द्धन सम्बन्धी ज्ञान लिएका छन् । पालिकाको आर्थिक सहयोगमा वर्ल्ड कम्युनिकेसन मिडिया नेटवर्क प्रा.लिको आयोजनामा आइतबारदेखि शुरु भएको कार्यक्रम मंगलबार समापन भएको हो । रीतिरिवाज र कर्मकाण्ड सिकाउँदै पुस्तान्तरण र संरक्षण गर्न सहायता पुर्याउने गरि थालिएको कार्यक्रममा प्रमुख अतिथि पालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङको विशेष आतिथ्यतामा उद्घाटन भएको थियो । समापनमा प्रमुख अतिथि अध्यक्ष आङ्देम्बे, विशेष अतिथि ५ नम्बर वडाका अध्यक्ष बिष्णुकुमार चेम्जोङ,निमित्त प्रमुख प्रशासकिय अधिकृत निर्मल अधिकारीसहित प्रशिक्षकद्वय पण्डित कमल भण्डारी र गोपाल घिमिरेले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए । धर्मसंस्कार सम्बन्धी अन्तरक्रियासहितको प्रशिक्षणमा युवा,युवती,महिला र ८० वर्ष उमेरसम्मका अग्रजहरुको उपस्थिति रहेको आयोजक संस्थाका प्रतिनिधि कुमार खड्काले जानकारी दिए । संस्थाका प्रतिनिधि मनोज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि र प्रशिक्षकलाई थापाले मायाको चिनो र कदरपत्र प्रदान गरेका थिए । लिम्बू समुदाय र आदिवासी जनजातीको बाहुल्यता रहेको यस पालिकामा खसआर्यलाई पनि पालिकाले उतिकै सम्बोधन गरेको प्रति सहभागीहरु मध्येबाट सिकाईको अनुभव प्रस्तुत गर्दै रघुनाथ घिमिरे र सविना दुलाले खुशी व्यक्त गरे ।

पालिकाले खसआर्य मात्रै होइन सबै समुदाय र जातजातीको धर्म,संस्कार र संस्कृतिलाई संरक्षण गर्न देखाएको चासो देशकै उदाहरणिय भएको प्रशिक्षक पण्डितद्वय अधिकारी र भण्डारीले बताउँदै जनप्रतिनिधि र पालिका परिवारलाई धन्यवाद दिए । यस कार्यलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाउँदै निरन्तरता दिने पालिका अध्यक्ष आङ्देम्बेसहित अन्य अतिथिले प्रतिवद्धता जनाएका छन् ।

इलाम जिल्लासंग सिमाना जोडिएको यस पालिकामा २५ हजार जनसंख्या रहेको छ । जस मध्ये ५५ प्रतिशत लिम्बु,१५ प्रतिशत खसआर्य,१० प्रतिशत राई,१० प्रतिशत तामाङ,५ प्रतिशत दलित र १/१ प्रतिशत सुनुवार,मगर,नेवार तथा २ प्रतिशत (माझी, कुमाल) लगायतका अल्पसङख्यक र अन्य जातीको बसोबास रहेको पालिकाको तथ्यांङ्कमा उल्लेख छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार