इलाम : इलाम जिल्लामा तैनाथ श्री रणशार्दूल गणले मिति २०८० जेष्ठ ७ गते इलाम जिल्ला सुर्योदय न.पा. वडा नं. १० आहाले स्थित श्री कृष्ण आधारभूत विद्यालयलाई पच्चिस हजार रुपैया बराबरको अत्यावश्यक शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानिय जनसमुदायको उपस्थितीमा उक्त सामाग्रीहरु श्री रणशार्दूल गणका गणपति प्रमुख सेनानी सुनिल सुबेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मार्फत विद्यालयलाई हस्तान्तरण गरे ।
बि.सं. २००९ सालमा स्थापना भई विविध कारणले बि.सं. २०७३ सालदेखि बन्द रहेको उक्त विद्यालय यसै शैक्षिक सत्रबाट पुनः संचालनमा आएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले सम्बोधनको क्रममा नेपाली सेनाबाट यस्ता किसिमका कार्यहरु देशका विभिन्न स्थानमा हुने गरेको सुनिदै आएकोमा आज आफ्नै विद्यालयमा प्रत्यक्ष अनुभव गर्न पाएकोमा अत्यन्तै खुशी तथा गौरव महशुस भएको बताए । साथै, यस्ता कार्यक्रमबाट नागरिक-सैनिक सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउन सहयोग पुग्ने समेत उल्लेख गरे ।