पाँचथर : परिस्थिति र वाध्यताले अधिकाँश परिवारका छोराछोरी घरबाट बाहिरनु परेको छ । बुढाबुढीहरु मात्रै घर रुङ्दै एक्लिएका छन् । कतिपय बृद्धहरु छोराछोरी जहाँ गयो त्यहीं संगै जान नमिल्ने हुँदा घरमै थन्किनु परेको छ । त्यसो त छोराछोरीले जन्मदिने बुबाआमालाई आँफु पुगेको ठाउँमा लाने रहर गरेता पनि बृद्धहरु आफ्नो जन्म थलो बुढेसकालमा त्याग्न रुचाँउदैनन् । र, आफ्ना सन्तानको खुशीको लागि जतिसुकै पीडा हुँदासमेत लुकाएर राखेकै हुन्छन् । बुढेसकालसम्म सकिनसकी घरमै दुःखसुख जीवन गुजारा गरेकै देखिन्छ । विदेशबाट छोराछोरीले बुबाआमालाई पर्याप्त खर्च गर्न पुग्ने गरी पैसा पठाए पनि उनीहरुको भित्री मनको घाउँ भने निको हुँदैन । दिनदिनै डाँडामा अस्ताएको घाम सहर उमेर ढल्किन्दै गएपछि बरू पैसा हैन सहाराको अभाव भएको बताउँछन् बृद्धहरु ।
यस्तै पीडालाई मलम पट्टी लगाउने उदेश्यले राज्यले बृद्द र अपाङ्गता भएका नागरिकलाई सेवासुविधा दिंदै आएको छ । यसैक्रममा फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडाका जेष्ठ नागरिक र अपाङ्गता भएका ३७ जनालाई सम्मान गरिएको छ । उनीहरुको आत्माबल बढाउँन साथै सान्तवना दिंदै सहयोग गर्ने हेतुले वार्षिक कार्यक्रम अनुसार वडा कार्यालयमा सामुहिक भेला गराएर शुक्रबार सम्मान गरिएको हो ।
यस भन्दा अगाडि सम्मानित हुन बाँकी रहेका नौ महिला र नौ पुरुषसहित जम्मा १८ जना साथै अपाङ्गता तर्फ ८ महिला र ११ पुरुष गरी जम्मा १९ जना सम्मानित भएका छन् । उनीहरुलाई अतिथिको हातबाट ३० केजीको एक प्याक चामल (खाध्यन्न) प्रदान गरिएको छ । सम्मान हुनेमा ८० वर्ष उमेरसम्मका वृद्धहरु रहेको वडा सचिव शहरमान चेम्जोङले जानकारी दिए ।
सम्मान कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र विशेष अतिथि उपाध्यक्ष ठाकुरसिं नेम्बाङको आतिथ्यता तथा वडाध्यक्ष बिष्णुकुमार चेम्जोङको अध्यक्षतामा सम्पन्न गरिएको थियो । वडाका बृद्धबृद्धाहरु,कर्मचारीलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा वडासदस्य घनेन्द्र चेम्जोङले स्वागत मन्तव्य र पार्टी प्रतिनिधिले पनि शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्यमा प्रमुख अतिथि आङ्देम्बे र विशेष अतिथि नेम्वाङले बालापनको उमेर र वृद्ध उमेर उस्तैउस्तै भएको बताए । हरेक मानिसले आफ्ना परिवारका जेष्ठ नागरिकलाई खानपिन,स्याहारसुसार,औषधि उपचार,आदर सम्मान र सत्कारमा प्रथामिकता दिन आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा घर बाहिर रहेता पनि आफ्ना बृद्ध बुबाआमालाई सम्झेर समय अनुकुल मिलाई भेट गर्न आएमा बृद्धहरु हर्षित हुने बताए । जेष्ठ नागरिक र अपाङ्गले परिवारको हेरचाह चाहान्छन्,पैसाले मात्रै सहारा नमिल्ने उनीहरुको भनाई छ । विरामी भएमा समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना जेष्ठ नागरिकहरुलाई सचेत रहन पनि अतिथिले आग्रह गरे ।
अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका जेष्ठ नागरिक एक्लिन्दै गरेको समस्या हरेक समुदायमा छ । त्यसकारण त्यस्त जेष्ठ नागरिकहरुको उचित स्याहारसुसारका लागि प्रत्येक परिवारका आफन्तले जिम्मेवारी बहन गर्न जरुरी रहेको र भोलीका दिनमा सबै मानिस बृद्ध हुँदै जेष्ठ नागरिक बन्ने भएकाले राज्यले दिने सेवाको मात्रै भर पर्नु हुन्ने भन्ने उपस्थित अतिथिहरुले शुभकामना मन्तव्यमा बताए ।