पाँचथरः फाल्गुनन्द गाउँपालिकाका दुईवटा वडामा मोबाइल मर्मतदेखि सिलाईकटाई र ढाका बुनाई गरी जम्मा ८० जनालाई तालिम दिइएको छ ।
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत नयाँ उद्यमी सिर्जना तर्फ वडा नम्बर ६ र ७ मा तालिम संचालन भएको थियो । उक्त तालिममा ६ नम्बर वडाबाट ४५ दिने सिलाई कटाइ र ढाका बुनाईमा २०-२० जना प्रशिक्षार्थी थिए भने ७ नम्बर वडाबाट एक महिने मोबाइल रिपेरिङ तथा मर्मतमा १० जना साथै सिलाई कटाई र ढाका बुनाईमा १५-१५ जना गरी जम्मा ८० जना सहभागी रहेको पालिकाका उद्यम विकास सहजकर्ता कृष्ण बुढाथोकीले जानकारी दिए ।
पालिकाको आर्थिक सहयोगमा एनएस कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिङ प्रालि इलामद्वारा संचालित तालिममा ढाका बुनाई प्रशिक्षण तर्फ रमा बाँस्कोटा,मोबाइल रिपेरिङ तथा मर्मत प्रशिक्षक संजिव राजवंशी र सिलाईकटाईमा मणिका राईले सहजीकरण गरेको आयोजक संस्थाका प्रतिनिधि पिताम्बर आचार्यले बताए ।
मंगलबार समापन भएको तालिममा पालिका अध्यक्ष बृजहाङ आङ्देम्वेको प्रमुख आतिथ्यता रहेको थियो । विशेष अतिथि निमित्त प्रमुख प्रशासकिय अधिकृत निर्मल अधिकारी,रोजगार संयोजक बिचारसिं लावती र ६ र ७ नम्बर वडाका अध्यक्ष नारायण प्रसाद आङ्देम्बे र देउकुमार आङ्देम्बे समेतको उपस्थिति रहेको जनाइएको छ । सहभागीहरुलाई अतिथिले प्रमाणपत्र प्रदान गरेका थिए ।