
इलामः झापाको बुद्धशान्ति गाउँपालिका ४ नम्बर वडाका एक व्यक्ति तीन दिनदेखि बेपत्ता छन् । बैशाख ३१ गते राती ११ः३० बजेदेखि पुर्ण सुहाङ मिङ्सो नाम गरेका उनी हराइरहेको र खोजीकार्यका लागि परिवारबाट प्रहरीमा उजुरी परिसकेको छ ।
बेपत्ता सुहाङका बुबाका अनुसार सामाजिक सञ्जालमा स्ट्याटस लेखेको आधारमा मिङ्सोलाई अपहण गरिएको दावी छ । घटना घट्नुअघि बुद्धशान्ती गाँउपालिकाका दिलकुमार लाबुङ(करण), नवराज लिम्बू, सुक्रराज लिम्बू र सुमन लिम्बु लगायत ८/९ जनाको समूहले घरमा आएर ‘तेरो छोरा निकाल हामी तेरो छोरालाई मार्छौ भनी घरमा ढुङ्गामुढा र तोडफोड गर्नुका सार्थ ज्यान मार्ने धम्की पनि दिएका थिए ।
छोराको खोजी गरी कारवाही गरीपाउँ भन्दै उनको बुबा खम्बबहादुर सुहाङले सोमबार दिउँसो धुलाबारी प्रहरी चौकीमा किटानी जाहेरी दिएका छन् । खोजी कार्यमा संलग्न रहेका कवि तथा पहिचान पक्षधर संगम सुहाङले किटानी जाहेरी दिइएको ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिए । प्रहरीले पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ ।