‘लम्पी स्किन’ फैलिएपछि माङसेबुङका पशु चिकित्सक र प्राविधिक किसानको गोठगोठमा

  नयाँ बुलन्द
616 Shares

माङसेबुङ : ‘लम्पी स्किन’ रोग फैलिँदै गएपछि ईलामको माङसेबुङमा पशु चिकित्सक र प्राविधिकहरु किसानको गोठगोठमा पुगेका छन् ।

रोग फैलिन नदिन र सङ्क्रमित गाईवस्तुको उपचारका लागि पशु चिकित्कस तथा प्राविधिकहरु किसानको गोठगोठमा पुगेका हुन् ।

सो रोगबाट गाउँपालिकाभर हालसम्म १२ वटा गाईगोरु मरेका छन् । वडा नम्बर ५ मा मात्र ६ गाईगोरु मरेको माङसेबुङ गाउँपालिकाका पशु चिकित्सक मनोज ठगुन्नाले जानकारी दिए ।

वडा नम्बर ६ मा २, वडा नम्बर ३ मा २, वडा नम्बर ४ मा १ र वडा नम्बर १ मा १ वटा गाईगोरू मरिसकेका छन् ।

ठगुन्नाका अनुसार गाउँपालिकाको ६ वटै वडामा फैलिएको रोगबाट ९ सय ३० बढी गाईगोरु बिरामी परेका छन् ।

किसानबाट जानकारी पाउनासाथ पशुप्राविधिक टोलीहरु किसानको गोठगोठमा पुगेर आवश्यक उपचार र परामर्श दिन सुरु गरेका छन् । प्रत्येक वडामा प्राविधिक खटाई हरेक दिन उपचार र विवरण संकलन गर्ने कार्य भइरहेको ठगुन्नाले बताए ।

भौगोलिक विकटता, जनचेतनाको अभाव सञ्चारमाध्यमको पहुँच नभएकाले नियन्त्रणमा केही समस्या आए पनि हाल निरन्तर पशु चिकित्सक र प्राविधिकहरु खटाई उपचार र जनचेतनामूलक कार्यक्रमहरु गरिरहेकाले नियन्त्रण उन्मुख अवस्थामा पुगेको चिकित्सक ठगुन्नाले बताए ।

रोगको ठोस उपचार नभएकाले सङ्क्रमित गाईभैँसीलाई मृत्युबाट बचाउन लक्षणमा आधारित उपचार गर्ने र सङ्क्रमण फैलन नदिनका लागि गाईभैँसीको ओसारपसार र गोठको सरसफाइ नै मुख्य उपाय रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार