पाँचथरः पछिल्लो समयमा फाल्गुनन्द गाउँपालिकाका युवा पिँढीहरु केलाङ प्रशिक्षण प्रति आकर्षित बन्न थालेका छन् । उनीहरु केलाङ नृत्यमा उत्साहित बनेसंगै गतवर्षदेखि प्रशिक्षण थालिएको हो ।
गतवर्ष फाक्तेप युथक्लबको आयोजनामा प्रशिक्षण गरिएको थियो भने यसवर्ष नामसामी केसामी केलाङ संस्था मार्फत आठ दिन अगाडिदेखि शुरु गरिएको केलाङ प्रशिक्षण सोमबार समापन भएको छ । फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा संचालित उक्त प्रशिक्षणमा सातै वटा वडाका सहभागीसहित ६० जनालाई प्रशिक्षण दिइएको संस्थाकी सचिव टिका नेम्बाङले जानकारी दिइन् ।
श्रोतसाधन र प्रविधिको अभावमा पहिलेका बुढापाकाले जानेको कुरा नयाँ पुस्तालाई सिकाउँन निक्कै कठिन हुन्थ्यो र पछिल्ला पिँढीहरु अलमल्ल परेको थिए । तर,आजभोली भने नयाँ प्रविधिले गर्दा सिक्न र सिकाउँन सहज भएको बताउँछन् नामसामी केसामी केलाङ संस्थाका अध्यक्ष तथा प्रशिक्षक याम प्रसाद नेम्बाङ ।
आफ्नो संस्कार,संस्कृति,लिपी भाषा र धर्मलाई जीवन्त राख्नु पर्छ भन्ने मान्यतालाई शिरोधार्य गर्दै युवा पिंडीहरुमा जोशजाँगर पलाएको सहभागीहरु बताउँछन् । सिकेका हरेक कलालाई आवश्यक्ता अनुसार प्रस्तुत गर्न सक्ने क्षमता विकास भएकोले प्रशिक्षण उपलब्धीमुलक बनेको उनीहरुको भनाइ छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले विदेशीहरुको संस्कारले आक्रमण गरिरहेको बेला हरेक जातीले आफ्नो पहिचान बिर्सिरहेको हुँदा सबै सचेत रहन आग्रह गरे । मौलिकतालाई चासो नदिँदा लोप हुँदै गएको कला सँस्कृति सबै जातजातीले संरक्षण सम्बर्द्धन गर्न उत्साह जागोस् भन्ने उदेश्यका साथ पालिकाबाट समावेशी बजेट विनियोजन गर्दै आएको प्रमुख अतिथि आङदेम्बे तथा विशेष अतिथि उपाध्यक्ष ठाकुरसिं नेम्बाङले जानकारी गराए । सहभागीहरुलाई अतिथिले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
घुर्बिसे पञ्चमीमा आयोजित प्रशिक्षण समापनमा ४ र ५ नम्बर वडाका अध्यक्ष दलबहादुर नेम्बाङ र बिष्णु कुमार चेम्जोङ,पार्टी प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेका थिए ।