फाल्गुनन्दमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  युद्धबहादुर बोहोरा
259 Shares

 

पाँचथरः फाल्गुनन्द गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । फाल्गुनन्द पालिकाको आयोजना तथा  ग्लोबल कम्युनिकेशन एण्ड मिडिया कर्नर प्रालिद्वारा संचालित रेडियो मितेरी पाँचथरको सहजीकरणमा भएको थियो ।

फाल्गुनन्द गाउँकार्यपालिका र मातहतका कार्यालयहरूको काम कार्बाही,सेवा प्रवाह,योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राही बीच अन्तरक्रिया गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले बताए । उनले यस आर्थिक वर्षको यस त्रैमासिकसम्म पालिकाको (भौतिक तथा बित्तीय) चालु तर्फ ५२.४२ प्रतिशत र पुँजीगत तर्फ ४४.३७ प्रतिशत मात्रै खर्च भएको विवरण प्रस्तुत गरे । बढी चासोका विषय व्यक्तिगत घटना दर्तामा जन्म ५९४,विवाह २२०, मृत्यु १५४,बसाईसराई १३७ र सम्बन्ध विच्छेद १७ जनाको विवरण सार्बजनिक गरेक थिए । राजश्व शिर्षकमा १७ लाख ८३ हजार ५४७ रुपैंया संकलन भएको,दुई हजार ३६७ जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै गरेको साथै पालिका भित्र ३५५ अपाङ्गता भएका व्यतिहरु रहेको तथ्याङ्क प्रस्तुत गरे थिए ।  यसबाट सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने र सेवाग्राहीहरूको गुनासो वा जिज्ञासाहरूको बारेमा पारदर्शी बनाउने गरि गाउँपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सेवाग्राही , जनप्रतिनिधि, पेसाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

 

सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाका अध्यक्षहरु मध्येबाट ५ नम्बर वडाका अध्यक्ष बिष्णुकुमार चेम्जोङले वडाका गतिविधिहरू र प्रमुख प्रशासकीय अधिकृत तुम्रोले गाउँकार्यपालिका तथा विषयगत शाखाका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सरोकारवालाहरूले शिक्षा,स्वास्थ्य,सडक, खानेपानी,सिँचाइ, खेलकुद,यातायात, लगायत विकासका पूर्वाधारहरू, पर्यटकीय क्षेत्रको प्रवर्द्धन, संरक्षण र विकास,कृषि उत्पादन र बजारीकरण,कृषकलाई अनुदान दिंदा वास्तविक किसानले नपाएको, खरिद बिक्री सम्बन्धमा,करारमा कर्मचारी छनौट बारे,पालिकाको प्रशासनिक भवन निर्मांण लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत तुम्रोक र पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले सरोकारवालाहरूले राखेका प्रश्नको जवाफ दिएका थिए भने उपाध्यक्ष ठाकुरसिं नेम्बाङले स्वागत मन्तव्यसहित सार्वजनिक सुनुवाईको औचित्य र उद्देश्य बारे प्रस्ट्याउँदै नीतिगत र आवश्यक सवालको सम्बोधन गरेका थिए । कार्यक्रममा हरेक समय नागरिक,संचारकर्मी र सरोकारवालाले पालिकाको गतिविधि,कार्यशैली माथि टिप्पणी,सुझाव, सल्लाह र कम्जोरीलाई व्यापक रुपमा औल्याएर उठान गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन् । यसले समृद्ध पालिका निर्माण गर्न सहयोग पुग्ने र गल्ती कम्जोरीलाई सच्याउने मौका मिल्ने उनिहरुले बताए । प्रश्नकर्ता नागरिकहरूले राज्यले सरकारी क्षेत्रमा लगानी गर्ने तर राम्रो प्रतिफल नआइरहेको सन्दर्भमा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समेत प्रभावकारी कार्यहरू गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय तहलाई पारदर्शिता र जबाफदेहीताका लागि सुशासन कार्यविधि बनाएर लागू गर्ने अधिकार भए पनि जनताका गुनासो कम रुपमा सुन्ने गरेको नागरिकले दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार