किरात समुदायले आन्दोलको रुपमा उभौली मनाउँदै

इलाम : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उभौली पर्व यस पटक आन्दोलनको रुपमा मनाउँदैछन् । पूर्वी नेपालमा बाहुल्यता रहेको किरात समुदायले आफ्नो राष्ट्रिय चाड उभौली यस वर्ष प्रदेशको नाम ‘कोशी’ खारेजी आन्दोलनको रुपमा मनाउने तयारी गरेका हुन् ।

राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले ‘प्रदेशको नाम कोशी खारेज गर’ भन्ने नारासाथ  उभौली पर्व मनाउने तयारी गरेका हुन् । ति समुदायले बिहान पूजाअर्चना गरी दिउँसो आन्दोलनको रुपमा साँस्कृतिक प्रदर्शन गर्ने तयारी गरेका छन् ।

विहान प्रकृति, देविदेवता र भूमीको पूजा अर्चना गरी दिउँसो आन्दोलनको रुपमा आफ्नो मौलिका भेषभूषा र बाजागाजासहित साँस्कृतिक प्रदर्शन गरिने किरात याक्थुङ चुम्लुङका इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

यो पर्वमा वालीनाली सप्रियोस्, अन्नबालीमा किरा, फट्याङग्रा नलागोस्, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गर्ने गरिन्छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ ।

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उनले सुनाए । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किरात लिम्बू समुदायले किरात याक्थुङ चुम्लुङ इलामको आयोजनामा विहान इलाम नगरपालिका ६ बालनगाउँमा पूजा अर्चनासँगै दिउँसो इलाम चोकबजारमा प्रदेशको नाम ‘कोशी’ विरुद्ध जातीय पोसाक र केलाङसहित आन्दोलनका रुपमा साँस्कृतिक प्रदर्शन गर्ने तयारी गरेको चुम्लुङले जनाएको छ ।

किरात राई समुदायले विहान इलाम नगरपालिका ७ ओपिधारामा पूजाअर्चनासँगै इलाम चोकबजारमा साकेला नाँच, मौलिक पोशाकहरुको प्रदर्शनी गर्नेछ । किरात सुनुवार समुदायले इलाम नगरपालिकाको पुवामझुवामा स्थित स्यादरथानमा पुजा गरेर वुरसिल नाँचलगायत कार्यक्रमहरु गरि मनाउनेछन् ।

याक्खा समुदायले माइजोगमाइ गाउँपालिकाको नामसालिङमा देवीदेवताको पुजाआजा गरेर सबै इष्टमित्र भेट भएर रमाइलो गर्दै मनाउँदैछन् । भुजेल समुदायले पनि विभिन्न मौलिक संस्कृति झल्काउने कार्यक्रमहरुको साथमा उभौली पर्व मनाउँदै छन् ।

किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने गर्दछन् । उभौली पर्वको अवशरमा राजधनी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम हुँदैछन् ।

किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाचँगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार