उभौली

  सन्तोष नेम्बाङ लिम्बू  130 पटक हेरिएको

सन्तोष नेम्बाङ लिम्बू

खोटाङबासी राई समुदायको नुनथला गाँउमा मुख्य साकेला थान छ । अन्नबाली लगाउने समयमा ती समुदायका मुल पुजारी विजुवा नाक्छोङद्धारा साकेला थानमा मुन्धुम फलाक्दै सेउली गाढिन्छ त्यस पछि थानको भुईबाट साकेला सिली (अर्थात ढुङ्गा) झिके पछि साकेला नाच जगाइन्छ र साकेला पर्व घोषणा गरिन्छ । मुलपुजारी विजुवाले साकेला थानमा भालेपोथी कुखुरा,कोदोको छोक्रा,अछिता,फलफूल आदिले थानमा पुजा थालेपछि मुन्धुम अनुसारको सिलीनाचहरु नाक्छोङद्धारा क्रमश नाचिन्छ । घरघरबाट ढोल झ्याम्टा,चमर,सेउलीका साथ ढोलेहरु जम्मा भई साकेला थानको वरी परि नाक्छोङले नाचेको मार्फासिली,वाफासिली जस्ता नाचहरु एकरात देखि एकमहिना सम्म नाच्ने चलन छ । अन्तमा नाक्छोङले साकेला थानमा जगाएको साकेला सिलीको सेउली उखेन्छि र विधिवतरुपमा विसर्जन गरिन्छ । बैशाखे पूणर्िमाको सिली विर्सजन गरे पछि अर्को सालको मंसिरे पुणर्िमा सम्मलाई विदाई गरिन्छ ।

यसरी आदिवासी किरातहरुले बर्षमा दुई पटक उभौलि र उधौली गरी यो पर्व मनाउने प्रचलन रहेको छ । उभौलीमा किसानहरुले छरेका बिउविजनहरु उधौलीमा राम्ररी फलोस् फुलोस् , अन्नको सहहोस् , घामपानी मौसम मिलुन्, अन्नबाली उब्जनी स्थानलाई बाढी पहिरो,आँधीबेरीले नाश नगरुन्.भन्ने कामना गर्दै खेेतीपातीको थालनी गरेका हुन्छन् । यसरी खेतिपाली थालनी गरेको समयलाई उभौली पर्वको रुपमा मान्ने चलन रहिआएको छ । यो पर्वलाई ऋतु परिवर्तनको आधारमा पनि छुट्याउने गरिन्छ । उभौलीमा पैयुँ फुल्ने, बेसीतिरका पशुपंक्षिहरु गर्मी मौसममा लेकतिर बसाई सर्ने, नदिखोलाका माछाहरु बसाई सरी तल उधोँबाट माथि उभोतिर जाने हुनाले यो पर्वलाई उभौली भन्ने गरीन्छ । यिनै सस्कृति,परम्पराहरु किरात समदायका आदीम पुर्खाहरुले आफ्नो मौलिक पहिचानहरुलाई मानव सभ्यताको विकास क्रमसगसँगै आफना दरसन्तानहरुलाई प्रंत्यक्ष/अप्रत्यक्ष रुपमा हस्तान्तरण गर्न सक्षम भएकाले नै गर्दा वर्तमान्मा अवस्थामा किरात सभ्यता,दर्शन , इतिहास, धर्म, सँस्कृतीले जिवन्तता एंव निरन्तरता पाउन सकेको छ । सँस्कृतिको निरन्तर प्रयोग र अभ्यासबाट नै उँभौली पर्वलाई आजका लिम्बुपुस्ताहरुले यक्वा तङनाम, राईले साकेला-सान्केवा, याक्खाले चासुवा र सुनुवारले फोलष्याँदर पिदारको चण्डी पूणर्िमाको रुपमा मान्ने गरेका छन् ।

किरात लिम्बु जातीको शास्त्रीय मुन्धुम अनुसार माङतागेरानिङवाफु माङले मानव जातीका आदीम पुर्खा सावायेत्तहाङलाई दिएको अन्नका बिउबिजनलाई किरात चेली सिबेराएःक्थुक्माले खोरिया फाडी उब्जनी गर्न थालेको मिथक छ । अन्नबालीको सहहोस भन्दै तागेरा निङवाफुमाङ , युमाथेवा, साम्माङ च्याङ, घरका ईष्ट देविदेवता, खोलानाला, वनजंगल , हिमाल पहाड आदीलाई पुज्ने गरिन्छ ।

त्यसै गरी किरात याक्खा जातीले उभौलीमा योच्याङ पुजा गर्छन् । पूजा गर्दा पितापुर्खाहरुको शक्ति र आशिर्वादले अन्नबालीनाली प्रशस्त फल्ने , दैवि बिपत्ती नलाग्ने, अन्नपात सहरहुने, पारिवारिक सुखशान्ति कायम रहने बिश्वास रही आएको छ पूजामा आषिश ग्रहण गदैृ चोसुवा च्याङमा तयार पारेको पुजाका खाद्य सामग्रीहरुलाई प्रसादीको रुपमा बाडीखाने चलन छ ।

किरात राई समुदायले पनि यो पर्वलाई आफ्नै मौलिक परम्परा अनुसार साकेला/ सान्केवाको रुपमा मनाउने गर्दछन् । यि समुदायको पुजारी नाकछोङ्गले प्रकृति तथा देवि देवता अर्थात सुम्निमा पारुहाङसंग सम्पुणर् प्राणी जगतको रक्षाको निम्ती वरदान माग्दै धार्मिक अनुष्ठान गर्ने गर्छन् । आफुले छरेका विउ विजनहरु यसरीनै आगमी बर्षहरुमा पनि सप्रियोस, सहकाल आवोस, सुख शान्ति सवैमा छाओस भन्ने कामना गर्ने गरीन्छ ।

किरात सुनुवार जातिहरुले यो पर्वलाई फोलष्याँदर पिदारको रुपमा मान्ने गर्दछन् । ष्याँदर मान्ने क्रममा मुईलि न्हासो, क्योर्फा न्हासो, सुसी न्हासो, सेर्फा न्हासो, सुरी न्हासो, काइँता न्हासोहरुको छनौट गर्ने गरिन्छ । यि न्हासोहरुलाई पुजा आवस्यक सामाग्रीहरु जुटाउने जिम्मेवारी दिइन्छ । । छर्न लागेको अन्न वालिहरुलाई आफ्ना ईष्टदेव तथा चण्डी स्थानमा मुल पुजारी मुइँली न्हासोले पुजा आराधाना गर्दै अन्न्पातको सहहोस भन्ने कामना गरिन्छ । जुन कार्यलाई ष्याँदर पिदार भनिन्छ । ष्याँदर पिदार गर्दा सुनुवारको जात र स्थान विषेश अनुसार सिरी शाँदार , जसी शाँदार, गिल शाँदार मनाउने गर्दछन् ।

उभौली पर्वलाई यी चार किरातहरुले आ-आफ्नो मौलिक परम्परा अनुसार मनाउने क्रममा यक्वा तङनाममा लिम्बु समुदायहरु केलाङ च्याब्रुङ , यालाङ्ग नाचने पालाम,हाक्पारे गाउने, पक्लुङ्ग लेप्सीङ्ग खेल खेल्ने गर्दछन् भने किरात याक्खा जातिहरु केवालाक, चावालाक, शुभकामना आदान प्रदान गर्दैं चासुवामा रमाउने गर्दछन् । त्यसै गरी किरात सुनुवार जातिहरुले ष्याँदर पिदारको अवसरमा विभिन्न दुलेदुमो (ढोल) हरु प्रयोग गर्दै पिदर नाच्ने गर्दछन् । जस्तोः बुल्फेपिदर, रागा दोःचा, शाँदर पिदर, सुरो योअचा, सुरो चोचा, जस्ता चण्डि नाचहरु नाच्ने गरिन्छ भने सान्केवामा राई समुदायहरु चमर, ढोल झ्याम्टाका साथ प्रकृतिमा भएका जिव जन्तुहरुको सजिव नक्कल गर्दै सिलीहरु नाच्ने गरिन्छन् । जस्तो ः चासुम सिली (अन्न) वापा सिली (भाले) छोङ्गवा सिली (चरा) आदिको नक्कल गर्दै १५ दिन सम्म सिलीहरु नाच्ने गरिन्छ । चासुम सिली नाच्दा मानवले अन्न फलाउनको लागि रोप्ने काम देखि पाकेपछि काटेर झाट्ने, थन्काउने काम आदिको कार्यमा जे विधीहरु अपनाईन्छ त्यो सिली नाच्दा त्यस्तै क्रियाकलाप र हाउभाउ मिलाएर नक्कल गर्दै नाच्ने गरीन्छ ।

हाल नेपाल सरकारले नेपालको विभिन्न धर्म र जातिहरुका १८ वटा पर्वहरुलाई राष्ट्रिय पर्र्वको रुपमा मान्यताका साथ सार्वजानिक विदा दिने निणर्य गरेकोले पनि उभौली पर्वले राष्ट्रिय किरात चाडको रुपमा मान्यता पाएको छ । वि.सं . २०५८ चैत्र २६ गते नेपाल राजपत्रमा सार्वजानिक सुचना प्रकाशित गरी लिम्बु जातिहरुको यक्वा तङनाम, राईको साकेला , याक्खाको चासुवा, र सुनुवारको फोलष्याँदर पिदारलाई संयुक्त रुपमा उधौली पर्वको रुपमा मान्यता दिएको छ । विगतमा प्रधानमन्त्रि सुशिल कोइरालाले इलामको बाँझोमा आयोजित कार्यक्रममा सबै जातजातिका पर्वहरुलाई कानुनी रुपमा राष्ट्रिय पर्वको मान्यता दिदैं ७ दिन सम्म विदा दिने समेत घोषणा गर्नु भएको थियो । यस पर्वलाई आदिबासी किरात समुदायले सुख समृद्धी, स्थायि शान्ति , धार्मिक सहिष्णुता, जातिय सद्भावको भावनालाई सम्मान तथा कामना गर्दै देश विदेशमा रहेका किरात समुदायले यो उभौली पर्वलाई मनाईरहेका छन् । यस बर्षको उभौली पर्व येलेतङवे ५०८२ को अवसरमा नेपाली दिदिबहिनी दाजुभाईहरुलाई हार्दिक शुभकामना दिदै. सबैलाई सेवारो,सेवा,सेवायो, नोमसेवल, नमस्कार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार