काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको मिति तय हुन ढिलाइ भएको छ । प्रचण्डले वैशाख अन्तिम साता जेठको पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी भए पनि हालसम्म खासै प्रगति हुन नसकेको हो ।
यसअघि परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणमा ढिलाइ भएको बताइने गरिएको थियो । जसअनुसार सत्ता गठबन्धनले परराष्ट्र मन्त्री नियुक्त गरेर भ्रमणको तयारी गर्न मार्गप्रशस्त गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् । ‘मिति तय गर्नका लागि तयारी पनि पुगेको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दुवै देशका अधिकारीले साझा एजेन्डामा छलफल गरिरहेका छन्, एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ ।’
यसअघि नै भारतले मे १० देखि १९ तारेखको बीचमा जुनसुकै दिन भारतको भ्रमण गर्न सकिने निमन्त्रणा पठाएको छ । नेपालले पनि वैशाख ३१ र जेठ १ गते (मे १४–१५) मध्ये एउटा कुनै दिन भ्रमणमा आउन सकिने कार्य तालिकाको प्रस्ताव दिल्ली पठाएको थियो ।
हालको तयारी हेर्दा यो मितिमा भ्रमण हुनेजस्तो नदेखिएको नेपालस्थित भारतीय दूतावासका एक अधिकारीले बताए । नेपालकै तर्फबाट भ्रमणमा अलमल भइरहेको ती अधिकारीको दाबी छ ।
उपचुनावपछि नेपालको राजनीति परिस्थिति फेरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट समर्थन फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्ने भय प्रचण्डमा छ । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय गर्न ढिलाइ हुने अवस्था आएको बताइएको छ ।