निजी विद्यालय छोडेर सामुदायिकमा भर्ना हुँदै,जलकन्या आविमा ५ कक्षासम्म पुगे १२० जना विद्यार्थी

  युद्धबहादुर बोहोरा
2.1k Shares

 

इलामः गुणस्तर शिक्षा पाउने प्रलोभनमा धेरै अभिभावकले सामुदायिक विद्यालयलाई छोडेर आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने चलन बढेको छ । तर,ठिक यसको विपरीत बनेको छ इलामको पश्चिमी भेगमा रहेको फाकफोकथुम गाउँपालिका ५ नम्बर वडास्थित लुम्देमा अवस्थित जलकन्या आधारभुत विद्यालय । जहाँ ५ कक्षासम्म पठनपाठन हुने गर्दछ । हाल  नयाँ शैक्षिक शत्रको शुरुवातमै १२० जना भन्दा बढी विद्यार्थी संङ्ख्या पुगेका छन् ।

देशभरका कतिपय विद्यालयहरुमा विद्यार्थी सङ्ख्या न्यून हुँदा त्यहाँ जागिर खाने शिक्षकले विद्यालय जाउँ कि नजाउँ? भनेर अरेमरे पर्दै विद्यालय पुग्ने र हाँजिर गरेर दिन कटाउन मुस्किल बनिरहेको अधिकाँश खबरहरु सार्बजानिक भइरहेका छन् । यता,उही सेवा सुविधा प्राप्त गर्ने जलकन्या आविका शिक्षकहरु भने विद्यार्थी पढाउन र गुणस्तर शिक्षा दिन भ्याइनभ्याइ छ । उनीहरुलाई कुनै दिन फुर्सद छैन । यो केवल उनीहरुले आफ्नो स्वार्थको लागि नभई विद्यार्थीको सुनौलो भविष्य निर्माण गर्न र सामुदायिक विद्यालयको सानलाई जगेर्ना गर्ने रहेको छ । यही किसिमले सामुदायिक विद्यालयमा मेहनत र लगानी गर्ने हो भने निजी विद्यालयहरूसंग प्रतिस्पर्धाको कुनै जरुरत पर्दैन आफ्सेआफ सामुदायिक विद्यालयमा आम नागरिकको आकर्षण बढ्ने एउटा मार्गचित्र यस विद्यालयले तय गरेको बुद्धिजीवीहरु बताउँछन् ।

फाकफोकथुम गाउँपालिकामा ४१ वटा सामुदायिक र एक गुम्बा शिक्षा गरी जम्मा ४२ वटा विद्यालय छन् । जसमध्ये यस विद्यालयको सबै गतिविधिलाई मुल्याङ्कन गरेर २०७५ सालमा गाउँपालिकाले सर्वोत्कष्ट विद्यालयका रुपमा पुरस्कृत गरेको थियो । २०७८ सालमा जिल्ला समन्वय समिति इलामबाट पनि नमुना विद्यालय घोषण गर्दै सम्मान गरिसकेको छ । गुणस्तर शिक्षा प्रदान गर्न सफल यो विद्यालय पालिका भित्रको उदाहरणीय मात्र नभइ जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित बनेपछि यहाँ पढ्न आउने विद्यार्थीको आकर्षण बढ्न थालेको विद्यालयका प्रधानध्यापक अशोक चौहानले जानकारी दिए । उनले भने,’अहिले हाम्रो विद्यालयको चर्चा चुलिएको छ । यस अवस्थामा आइपुग्न हामीले सरकारको मात्रै मुख ताकेनौ बरू समयको सदुपयोग गरी शनिवार,सार्वजानिक विदाको दिन र कार्यालय समय भन्दा अघि वा पछिका समयमा समेत पठनपाठन संचालन गर्दै आएका छौं’ । दिनहुँ विद्यार्थीको चाप बढेसंगै विगतदेखि प्राप्त गरेको शैक्षिक गुणस्तरलाई थामेर राख्न निक्कै चुनौती थपिएको उनको भनाइ छ । यस संस्थामा हाल ४ जना दर्बन्दी शिक्षक,बालबिकाशका लागि ३ जना शिक्षक,निजी स्रोतबाट एक शिक्षक र एक कार्यालय सहयोगी छन् । उनीहरु सबैको टिमवर्कका साथै विद्यालय व्यवस्थापन समिति,अभिभावक,जनप्रतिनिधि लगायतको सक्दो प्रयासले नमुना विद्यालय बन्न सकेको उनले बताए । विद्यालयले हाँसिल गरेको उपलब्धीलाई बचाउँन अझै काजमा एक शिक्षक उपलब्ध गराई दिन पालिकामा आग्रह गरिएको उनले जानकारी दिए । शिक्षकहरुको तलबबाट केही रकम जम्मा गरेर एक निजी स्रोतका शिक्षकलाई सामान्य तलब खुवाउँदै आएको व्यथा उनले सुनाए ।  विगत केही वर्ष यता यस विद्यालयको नजिकैमा चल्दै आएका दुईवटा निजी विद्यालयका विद्यार्थी पनि यसै संस्थामा आउँन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगेको हो ।

२०२० सालमा स्थापना भएको यो शैक्षिक संस्था विद्यार्थी संख्या न्युन भएका कारण २०७२ सालमा अन्य विद्यालयसंग गाभिने गरि छनौटमा परेको थियो । तर विद्यालय परिवार,स्थानीय र सरोकारवालाको अथक प्रयासबाट संस्था जोगाएर राख्न सफल भएपश्चात् विद्यालयले आफ्नो उचाई ह्वात्तै बढाएको छ ।

यस संस्थामा पढ्ने विद्यार्थीहरु प्रायः सबै विषयमा सबल छन् । उनीहरुले राम्रो अंग्रेजी व्याकरण जान्ने मात्रै होइन शुद्धसंग स्तर अनुसारको अंग्रेजी बोल्न पनि सक्ने पालिकाका शिक्षा शाखा प्रमुख मतापसिं लिम्बुले जानकारी दिए । उनले  प्रधानध्यापकलाई मल्टीट्यालेन्टको संज्ञा दिंदै हालसम्मको विद्यालयको प्रगतिको प्रशंसा गरेका छन् ।

गत साल चैत्रमा विद्यालयको ५९ औं वार्षिक उत्सवका अवसरमा एक कार्यक्रमको आयोजना गरी शैक्षिक उन्नतिमा योगदान पुर्याउने ३८ जनालाई सम्मान गरेको छ ।  उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका पालिका अध्यक्ष दिपेन्द्र खनालले गाउँपालिकाले यसै आर्थिक वर्षमा शिक्षा नियमावली निर्माण गरेको जानकारी गराउँदै सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने नीति तय गरेको बताए । शैक्षिक सत्रको शुरुबाटै निरन्तर अनुगमन गरिने उनको भनाइ छ । बजार क्षेत्रमा रहेक निजी विद्यालयका कारण केही आधारभुत विद्यालयमा विद्यार्थी संख्या शुन्य रहे तापनि अन्य विद्यालयहरुमा यसैगरी विद्यार्थीको आकर्षण बृद्धि गर्न अभिभावक,विद्यार्थी,शिक्षक,विद्यालय व्यवस्थापन समितसंग गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म विद्यालयलाई आवश्यकता अनुसारको साथसहयोगका लागि पालिकाले पहल गर्ने जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार