पूर्वसंविधानसभा अध्यक्ष नेम्बाङलाई गृहजिल्लामा कालो झण्डा

  नयाँ बुलन्द
749 Shares

इलाम : अधिकाशं नेताहरु आफ्नो गृहजिल्ला कमै मात्र जान्छन् । यस्तो नेतामा पूर्वसंविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ समेत पर्छन् । यसपटक त झन् राष्ट्रपति पदको निर्वाचनमा पराजित भएदेखि नेम्बाङ गुमनामजस्तै बने ।

राष्ट्रपतिमा पराजित भएपश्चात पहिलोपटक गृहजिल्ला आएका नेम्बाङलाई यसपटक भने सधैंजस्तो स्वागत भएन । सधैं बाटैमा फूलमाला र खदाले स्वागत गर्ने नेम्बाङलाई जिल्लाबासीहरुले यसपटक भने कालो झण्डाले विरोध जनाएका छन् ।

प्रदेश १ को नाम ‘कोशी’ खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचान पक्षधर जिल्लाबासीले विहीबार नेम्बाङलाई कालो झण्डा प्रदर्शन गरेर विरोध जनाएका हुन् । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र ‘कोशी’ प्रदेशका प्रस्तापक प्रदेशसभा सदस्य रामबहादुर मगर (राना) लाई लिएर गृहजिल्ला आएका नेम्बाङलाई  इलाम सदरमुकाममा कालो झण्डा देखाएर विरोध जनाएका हुन् ।

सदरमुकाममा आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्न आएका तीनैजनालाई आन्दोलनकारीले कालो झण्डा देखाएका छन् ।

कार्यक्रमस्थलतर्फ लागेका तीनैजनालाई सयौंको संख्यामा रहेका आन्दोलनकारीले इलाम बजारमा कालो झण्डा प्रदर्शन गर्दै उनीहरुविरुद्ध चर्को नाराबाजी गरेका थिए । पूर्वप्रधामन्त्री ओलीसहितका नेताहरु कडा सुरक्षा व्यवस्थाबीच कार्यक्रमस्थल प्रवेश गरेपछि आन्दोलनकारीले कार्यक्रमस्थ बाहिर समेत प्रदर्शन गरेका थिए ।

आन्दोलनकारीहरुले ‘कोसी प्रदेश खारेज गर’, ‘केपी ओली मुर्दावाद’ ‘राम राना मुर्दावाद’ जस्ता नारा लगाउँदै कालो झण्डा प्रदर्शन गरेका थिए ।

कालो झण्डा देखाएको भन्दै ९ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अर्पण राई, राम लिङदम, बिक्रम फियाक, सपना राई, विक्रम राई, धर्म लिम्बू, कुमार फत्र, महेश फियाक र गणेश लिम्बूलाई नियन्त्रणमा लिएको हो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहिबेर घम्साघम्सी समेत भएको थियो । सुरक्षामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्न ९ जनालाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालयको मुख्य प्रवेशद्वार अगाडि समेत प्रदर्शन गरेका थिए । मुख्य प्रवेशद्वार अगाडि नाराबाजी गरेपछि पक्राउ परेका प्रदर्शनकारीहरुलाई प्रहरीले रिहा गरेको थियो ।

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त संघर्ष समितिले स्थानीयस्तरमा केन्द्रित आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।  प्रदेश मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, ८२ जना प्रदेश सभा सदस्यहरूलाई कालो झण्डा देखाउने, सरकारी कार्यालयहरूमा कोशी लेखिएको बोर्ड, लेटरप्याड, स्ट्याम्प नचलाउने, हटाउने र पालिकाहरूमा ‘कोशी’ नाम विरुद्धको कार्यक्रमहरू निरन्तर गर्नेलगायतका कार्यक्रम गरिरहेको छ ।

आन्दोलनकारीले पहिचान, संघीयता र धर्मनिरपेक्षता विरोधी एवम् ‘कोशी’ नामका पक्षपोषकको आरोप लगाउँदै ओली र नेम्बाङले यस्तो अवस्थामा इलाममा आएर आन्दोलनलाई थप उत्तेजित बनाएको संघर्ष समितले जनाएको छ । सङ्घर्ष समितिले पहिचानको आन्दोलनमा सहयोग गर्न सम्पूर्ण घटक राजनीतिक दल, संघसंगठनहरु, सबै पालिका एवम् वडा तहका संघर्ष समिति एवम् पहिचान र संघीययता पक्षधर जनसमुदायहरुमा अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार