विराटनगर : विराटनगरमा पहिचानपक्षधर र प्रहरीबीच झडप भएको छ । कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ निधन भएका शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव प्रदर्शन गर्ने क्रममा झडप भएको हो ।
पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङ घाईते भएका थिए ।
टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएपनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामाकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका छन् । लाजेहाङको शव विपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो ।

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो । सोही क्रममा झडप भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएको थियो । आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीको भनाई छ । मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ ।