विराटनगर : प्रदेश १ को नामकरण कोशी गरिएको विरोधमा आन्दोलन हुँदा प्रहरीसँगको झडपमा घाइते भई उपचारको क्रममा निधन भएका सहिद पदम लिम्बु (लाजेहाङ) को शव बैशाख ९ गते शनिबार अन्त्येष्टी गरिने भएको छ ।
संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमका अनुसार प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको मंगलबार बसेको बैठकले सहिद लाजेहाङको शव परिवारजनसँग समन्वय गरेर बैशाख ९ गते शनिबार बेलबारीमा अन्त्येष्टी गर्ने निर्णय गरेको छ ।
अन्त्येष्टी अघि शव यात्रा पनि गरिने उनले बताए । ‘बिहान १० बजे धरानमा श्रद्धाञ्जली अर्पण गरिनेछ भने इटहरीमा ११ बजे श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ,’इजमले भने,‘दिउँसो साढे १२ बजे विराटनगर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गरेर प्रदेशसभा परिक्रमा गराउदै दिउँसो साढे २ बजे सहिद लाजेहाङको घर बेलबारीमा शव पुर्याइनेछ ।’ दिउँसो ४ बजे शवको अन्तिम सँस्कार गरिने पनि संघर्ष समितिको निर्णय भएको पनि उनले जानकारी दिए । यसैगरि, संघर्ष समितिले बैशाख १० गते इटहरीमा विरोध सभा गर्ने र ११ गते विराटनगर केन्द्रीत शान्तिपुर्ण विरोध प्रर्दशन गर्ने पनि संघर्ष समितिले निर्णय गरेको छ ।
मोरङको बेलबारी घर भएका लाजेहाङ धरान बसेर राजनीतिमा सक्रिय थिए । उनी संघीय लिम्बुवान राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्सको केन्द्रीय सहकमाण्डर थिए । गत चैत १० गते उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियुमा निधन भएका लाजेहाङको शव झण्डै एक महिनादेखि मर्चरीमै राखिएको छ । लामो समयसम्म शव राखिदा सड्ने जोखिम भएपछि आन्दोलनरत पक्ष र परिवारजनलाई अन्त्येष्टी गर्नुपर्ने दबाब परेको थियो । चैत ५ गते विराटनगरमा भएको विरोध प्रर्दशनको क्रममा प्रहरीसँग झडप हुँदा लाजेहाङ घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो ।
उनको निधन पछि पहिचान पक्षधर तथा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले सहिद घोषणा गर्नुपर्ने माग राखेर आन्दोलन थप चर्काएको थियो । कोशी प्रदेश लेखिएको बोर्ड हटाउने, ब्यानर, कागजपत्र तथा स्टाम्प च्यात्ने, जलाउनेलगायतको आन्दोलन चर्कादा प्रदेश अशान्त बन्दै गएको थियो । चौतर्फी विरोध र दबाब परेपछि सरकारले लाजेहाङलाई चैत तेस्रो साता सहिद घोषणा गरेको थियो ।