माङसेबुङमा ७ वैसाखदेखि फुटबल र बुद्धिचाल प्रतियोगिता

  नयाँ बुलन्द
378 Shares

माङसेबुङ : इलामको माङेबुङ गाउँपालिकामा आउँदो ७ वैसाखदेखि वडास्तरीय पुरुष तथा महिला फुटबल र बुद्धिचाल (चेस) प्रतियोगिता संचालन हुने भएको छ ।

‘माङसेबुङ युवा तथा खेलकुद समितिको अभियान, स्थानीय खेलाडीको उत्पादन र प्रोत्साहन’ नारासाथ माङसेबुङ गाउँपालिका युवा तथा खेलकुद समितिको आयोजनामा प्रतियोगिता संचालन हुन लागेको हो ।

माङसेबुङ गाउँपालिका-२ स्थित माङमालुङ (डोलटार) खेलमैदानमा हुने प्रतियोगिताको तयारी पूरा भउको आयोजना समितिका अध्यक्ष अतित योङहाङले जानकारी दिए । प्रतियोगितामा माङसेबुङका ६ वटा वडाबाट ८/८ वटा पुरुष र महिला टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजार पाउनेछन् । साथै बेस्ट प्लेयर, बेस्ट किपिङलगायतका अन्य विधाहरुमा समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट पुरुष तथा महिलाको गाउँपालिकास्तरीय खेलाडी छनोट गरिने आयोजकले जनाएको छ । पालिका स्तरमा छनोट भएका खेलाडीले गाउँपालिमा सञ्चालित पालिकास्तरीय प्रतियोगिता र अन्तरपालिकाहरुमा सञ्चालन हुने खेलकुद प्रतियोगितामा खेल खेल्न पाउनेछन् ।

उता बुद्धिचालतर्फ भने गाउँपालिकाभरीका ३२ जना बुद्धिचाल खेलाडी सहभागी हुनेछन् । बुद्धिचालका विजेताले नगद १० हजार र उपविजेताले पाँच हजार पाउनेछन् ।

बुद्धिचाल प्रतियोगितामा समेत गाउँपालिकास्तरीय चेस खेलाडी छनोट हुनेछन् । त्यस्तै प्रतियोगिता सम्पन्न पश्चात् माङसेबुङ गाउँपालिकास्तरीय बुद्धिचाल संघ गठन गरिने जनाईएको छ ।

प्रतियोगिताको फाइनल १३ वैसाखमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार