इलाम : इलामको सन्दकपुरमा गाउँपालिमा आयोजित प्रथम सन्दकपुर महोत्सवको मंगलबार औपचारिक उद्घाटन भएको छ ।
अनौपचारिक रुपमा गत २४ चैतदेखि सुरु भएको महोत्सवको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङले गरे । प्रथम सन्दकपुर महोत्सव मूल आयोजक समितिका अध्यक्ष जिवन शिवाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमअघि प्रदेश प्रमुख खापुङसहितका अतिथिलाई सुन्दकपुरबासीले साँस्कृतिक झाँकीले स्वागत गरेका थिए ।
महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले सन्दकपुरको विकासमा गरिएका हरेक प्रयासहरुमा आफ्नो सहयोग र समन्वय हुने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश प्रमुख खापुङले साँस्कृतिक विविधतालाई पर्यटन उद्योगका रुपमा विकास गरी आम्दानीको श्रोत बनाउन सकिने बताए । प्रदेश प्रमुख खापुङले पछिल्लो समय कोराना माहामारीका कारण थला परेको पर्यटन व्यवसाय विभिन्न महोत्सव र साँस्कृतिक उत्सवबाट चलायमान हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलामको पर्यटन विकासका लागि जिल्ला समन्वय समितिले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । जिल्लाको एकीकृत पर्यटन विकासका लागि सबैसँग समन्वय गरी पर्यटन व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने बताए ।
इलाम नगरपालिका प्रमुख केदार थापाले इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका एकीकृत भई पर्यटन प्रवर्द्धन गर्न लागिपरेको बताए । ‘सन्दकपुर गाउँपालिका र हामी आआफ्नो पालिकाको मात्रै नभएर समग्र इलामको पर्यटन प्रवर्द्धनमा लागिपरेका छौं’ नगर प्रमुख थापाले भने, ‘हाम्रो योजना पर्यटनबाटै आर्थिक आय विकास गर्ने भएकाले त्यसतर्फ एक भए लाग्ने म प्रतिवद्धता गर्दछु ।’
इलामको प्रवेशद्वार रहेको रोङ गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो (सुवास) ले पर्यटन प्रवर्द्धनका लागि सबै पालिकाहरु एक भएर हातेमालो गर्दै अघि बढेमा इलामको अर्थतन्त्र विकास हुने बताए । ‘हाम्रा अथाह सम्भावनाहरुलाई प्राथमिकताका आधारमा प्रवर्द्धन र विकास गरी पर्यटनका माध्यमबाट जिल्ला, प्रदेश र देशलाई अघि बढाउन सूर्योदयको जिल्ला इलामबाट देशको विकासमा टेवा पुर्याउने योजनाका साथ लाग्नुपर्छ’ स्याङ्बोले भने ।
रोङ गाउँपालिका इलामको प्रवेशद्धार भएकाले सबै पालिकाले पर्यटन सुचना केन्द्र संचालनका लागि सहयोग गर्नुपर्ने बताए । ‘कृषि उपजको प्याकेजिङ र बजारीकरण गर्यौ भने हाम्रो अर्थतन्त्र विकास हुनेछ, त्यसैले हामीले ग्रामीण अर्थतन्त्र विकासका लागि सबैजना लाग्नुपर्ने छ’ उनले भने ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले स्थानीय तहको ५ वर्षे अवधिमा पूर्वाधार निर्माणका काम भएकाले किसानको अर्थतन्त्र विकासका लागि कृषिसँगै पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए । ‘हामी हाम्रा अथाह पर्यटनका सम्भावनाहरुको प्रचारप्रसार गरि अघि बढ्ने गरी प्रथम सन्दकपुर महोत्सवको आयोजना गरिएको हो’ उनले भने, ‘यहाँको उत्पादन बिक्रि गर्ने र बजारीकरण गर्न आवश्यक छ । त्यसका लागि सबै पालिका प्रमुख र अध्यक्षले एक स्वरले हातेमालो गरि अघि बढ्नुपर्छ ।’
सन्दकपुर गाउँपालिका इलामका निर्वतमान अध्यक्ष उदय राईले स्थानीय तहको प्रथम कार्यकालमा काम गर्न गाह्रो भएपनि पर्यटन प्रवर्द्धनमा जग बसालेको दावी गरे । ‘हामीले आफ्नो कार्यकालमा सबै पूर्वाधार निर्माणको सुरुवात गरेकाले अहिलेको स्थानीय सरकारले अब सबै क्षेत्रलाई प्रवर्द्धनका लागि लाग्नुपर्छ र हामी पनि सहयोग गर्न तयार छौं’ उनले भने ।
सन्दकपुर गाउँपालिकाकी निर्वतमान अध्यक्ष शोभा पराजुलीले देशलाई आर्थिक सम्वृद्धिका लागि अघि बढाउन सबै एक जुट हुनुपर्ने बताइन् ।
प्रथम सन्दकपुर महोत्सवको औचित्य प्रकाश पार्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली मगरले कोरोना माहामारीका कारण थलिएको पर्यटन व्यवसायलाई जगाउन र कृषि उपजको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको बताए । ‘हामीले पर्यटन प्रवर्द्धनका लागि थालनी गरेको महोत्सव सुरुवात भएकाले यसबाट हुने कमीकमजोरीहरुलाई सुधार गरी अझ राम्रो बनाई आगामी दिनमा अघि बढ्नेछौं ।’
महोत्सव आयोजक समितिका सचिव रुपेनराज नेम्बाङले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष खेम थापा मगरले स्वागत गरेका थिए । उद्घाटन कार्यक्रमको समापन गर्दै आयोजक समितिका अध्यक्ष जीवन सिवाले सन्दकपुरलाई देश विदेशमा चिनाउनका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य अगम बान्तवा, शिक्षा सेवी गणेश गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपाल प्रहरी प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरी इलाम प्रमुख द्रोण बिष्ट, नेपाली काग्रेसका जिल्ला सहसचिव देबन्द्र सुवेदी, इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलाललगायतको उपस्थिती थियो ।
महोत्सवमा कृषि उपज, दूग्ध परिकार, जातिय सस्कृति, स्थानीय परिकार र पर्यटकीयस्थलको प्रचारका लागि प्रवद्र्धनात्मक ६१ वटा स्टलको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । संघीय सरकारबाट २०७६ सालमा एक प्रदेश एक सास्कृतिक ग्राममा घोषित भई पर्यटन पूर्वाधारका काम हुँदै आएका सन्दकपृर गाउँपालिकामा पर्यटनका माध्यमबाट बढी भन्दा बढी स्थानीय बजारहरुलाई चलायमान गरि अर्थतन्त्रको विकास गर्न प्रचारप्रसारको रुपमा महोत्सव आयोजना गरिएको हो ।
कोरोनामा माहामारीका कारण देशको पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा त्यसलाई पुनः चलायमान गर्न र गाउँपालिकाभित्रकै नागरिकलाई पर्यटन पदयात्रा गर्नसँगै भ्रमणको सस्कृति विकास गर्न महोत्सवको आयोजना भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईको भनाइ छ । सन्दकपुर महोत्सवमा आउने पर्यटकहरुका लागि पालिकाको मुख्य प्रशासकिय केन्द्र देउराली बजार, माईपोखरी आसपास क्षेत्रका होटल होमस्टेमा खाने बस्नेको व्यवस्था मिलाइएको आयोजक समितिका सचिव रुपेन नेम्बाङले बताए ।
महोत्सव १० वैसाखसम्म संचालन हुनेछ ।