इलाम : प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालमा रहेका साँस्कृतिक विविधता नै देशको सम्पति रहेको रहेको बताएका छन् ।
इलामको सन्दकपुर गाउँपालिकामा आयोजित प्रथम सन्दकपुर महोत्सवको औपचारिक कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले साँस्कृतिक विविधतालाई पर्यटन उद्योगका रुपमा विकास गरी आम्दानीको श्रोत बनाउन सकिने बताए ।
प्रदेश प्रमुख खापुङले पछिल्लो समय कोराना माहामारीका कारण थला परेको पर्यटन व्यवसाय विभिन्न महोत्सव र साँस्कृतिक उत्सवबाट चलायमान हुने बताए ।
जिल्लाको पर्यटकीय गन्तव्य सन्दकपुर डाँडा, रामसार क्षेत्र माईपोखरी, छिन्टापुलगायत दर्जनौं पर्यटकीय गन्तव्य रहेको सन्दकपुर गाउँपालिकाले थालेको पर्यटन प्रवर्द्धनको कामबाट प्रदेशमात्रै नभएर देशले नै सिक्नुपर्ने बताए ।
‘पर्यटन व्यवसाय मात्रै होइन, अब उद्योगको रुपमा विकास गरी हामी हाम्रो आर्थिक अवस्था सुधार गर्नुपर्छ’ प्रदेश प्रमुख खापुङले भने, ‘हामी हाम्रो मौलिकता, प्राकृतिक सुन्दरता र वन्यजन्तुसँगै वनजंगल देखाएर विदेशी पर्यटक ल्याउने वातावरण गरी आर्थिक समृद्धितिर जान सक्छौं ।‘
महोत्सोद्ये थलिएको पर्यटन व्यवसाय प्रवर्द्धद्दका लागि चलायन बनाउने भएकाले व्यवस्थित रुपमा सन्दकपुर गाउँपालिकाले आफ्ना योजनाहरु पनि कार्यान्वयन गर्ने अपेक्षा रहेको खापुङले बताए । नेपालमा रहेको जैविक विविधता, कला, संस्कृति एवम् झाँकीहरुबाट विदेशीहरु लोभिने गरेकाले त्यसको उचित संरक्षण गर्न सके अर्थतन्त्र विकासमा टेवा पुर्याउने खापुङको भनाई थियो ।
सन्दकपुर महोत्सव १० वैसाखसम्म संचालन हुनेछ ।