ताप्लेजुङ: सदरमुकाम फुङ्लिङ बजार क्षेत्रको सडक क्षेत्राधिकार भित्र निर्माण गरिएको अस्थायी संरचना नगरपालिकाले भत्काउन थालेको छ । चौथो पटकसम्मको म्यादमा पनि दायाँ–बायाँ साढे ७–७ मिटर क्षेत्र भित्रका नहटाएका संरचना मंगलवारबाट नगरपालिकाले आफैं भत्काएको हो ।
नगरपालिकाले अन्तिम पटक गत चैत २६ गते सडक सीमा दायाँ–बायाँका संरचना आफैं हटाउन स्थानीयलाई अवधि दिएको थियो । बैशाख २ गते म्याद सकिएपछि नगरपालिकाले उक्त क्षेत्रका संरचना धमाधम भत्काउन थालेको छ । पुस २४ गतेबाट पटक–पटक सडक सीमा क्षेत्र भित्रका संरचना आफैं हटाई सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको र अन्तिम पटकको मौकामा समेत नहटाईएका सडक सीमा क्षेत्र भित्रका संरचना डोजर प्रयोग गरी हटाउन थालिएको नगरप्रमुख अमीर मादेनले जानकारी दिए ।
यसअघि नगरपालिकाले सडक क्षेत्र भित्रको नक्साङ्कन गरेको थियो । त्यसपछि धमाधम संरचना हटाउन थालिएको छ । सुरुमा अस्थायी संरचना र त्यसपछि पक्की सहितका सडक सीमा क्षेत्र भित्रका अन्य संरचना हटाइने नगरपालिकाको तयारी रहेको छ । नगरपालिकाले यसअघि सडकको भाग रेखांकन गर्दै नगरबासीलाई अस्थायीरुपमा बनाईएका घर टहरा सहितका संरचनाहरु हटाउन पटक–पटक सुचना गरेको थियो । नगरपालिकाको सुचना पछि कतिपयले आफैँ हटाए, केहिले भने उठिबास लाग्ने भन्दै बिरोध जनाएका थिए । रेखांकन गर्न समेत नगरबासीले अबरोध गरेका थिए । बजार क्षेत्रको सडक साँघुरो हुँदा यातायातमा कठिनाई हुनुका साथै पैदलयात्रु समेत असुरक्षित हुने गरेकाले फराकिलो बनाउने योजना बनाएको नगर प्रमुख मादेनल बताए । नगर क्षेत्रलाई सुन्दर र हराभरा बनाउन फराकिलो सडक आवस्यक भएकाले पनि सडक बिस्तार प्राथमिकतामा परेको उनको भनाई छ । उनका अनुसार १५ मीटर भित्रैबाट दुबै तर्फ डेढ मीटरका दरले खाली भाग राखिने छ । सडक बिस्तारकै क्रममा खानेपानीका पाईप, बिजुलीका पोल र तारलाई समेत व्यवस्थित गर्दै लैजाने योजना रहेको मादेनले बताए । वर्षौदेखिका संरचना हटाउँदा उठिबास लाग्ने भन्दै कतिपय नगरबासीले भने बिरोध गर्दै आएकाछन् ।