इलामका तीन पत्रकार पुरस्कृत

इलाम : इलामका तीन पत्रकार पुरस्कृत भएका छन् । शुक्रबार इलाममा आयोजित कार्यक्रममा पत्रकार टीका खतिवडा, सविता पाण्डे र सुजता सुनुवार १०/१० हजार राशीको पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको आशिष स्मृति पत्रकारिता पुरस्कारबाट खतिवडा एवम् क्रियाशील पत्रकार महिला पुरस्कारबाट पाण्डे र सुनुवार पुरस्कृत भएका हुन्  ।

पुरस्कृत पत्रकारलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राई, प्रदेश अध्यक्ष लिलाबल्लव घिमिरे, प्रदेश सदस्य तोयानाथ भट्टराई, इलाम अध्यक्ष  विप्लव भट्टराईलगायतले सम्मानपत्र र चेक हस्तान्तर  गरे ।

२०६७ देखि सन्दकपुर दैनिकबाट पत्रकारितामा क्रियाशील खतिवडा राष्ट्रिय समाचार, कारोबार दैनिक, माउन्टेन टेलिभिजनलगायतमा आवद्ध छन् ।

२०६४ सालदेखि रेडियो नेपालवाणी एफएमबाट पत्रकारितामा क्रियाशील पाण्डे रेडियो नेपालका इलाम संवाददता हुन् । उनी रेडियो नेपावाणी एफएम, इलाम एक्सप्रेस दैनिक, हसना म्यागजीनलगायतमा आवद्ध छिन् । त्यसैगरी २०६९ देखि इलाम एफएमबाट पत्रकारितामा क्रियाशील सुनुवार उज्यालो रेडियो नेटवर्क काठमाडौंमा आवद्ध छिन् ।

इलामका स्वर्गीय पत्रकार आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासंघ इलाम शाखाले सो पुरस्कार स्थापना गरेको हो । साविकको मेचीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्ने उदयीमान एवम् क्रियाशील पत्रकारलाई प्रत्येक नयाँवर्ष पुरस्कार वितरण गर्दै आएको छ । महासंघले स्वर्गीय राईको स्मृति दिवसमा पुरस्कार वितरण गर्दै आएको छ ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिका (साविकको सुलुबुङ गाउँ विकास समिति ३) इलाममा जन्मेका राईको निधनपछि २०६० मा नेपाल पत्रकार महासंघ इलामले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष खडा गरी पुरस्कार स्थापना गरेको थियो ।

यस अघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती र भगीरथ भण्डारी पाँचथरका गणेश साङपाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङका आनन्द गौतम, सीता निरौला र चन्द्र पन्दाक पुरस्कृत भईसकेका छन् ।

यता क्रियाशील पत्रकार महिला पुरस्कार २०७७ मा नेपाल पत्रकार महासंघ इलामले स्थापन गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश सदस्य तोयानाथ भट्टराईले स्वर्गीय पत्रकार राईले इलामको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार