विवाह मलामी र अन्य यस्तै अवसरहरुमा भेला हुने झापा झरेकाहरुलाई देख्ता अबचाहिँ इलाम पुरै रित्तो बनिसक्यो होला भन्ने लाग्छ । गाउँमा कहलिएका भनिएका पुराना मानिसहरु झापातिरै झरिसके । सेवानिवृत्त शिक्षक , कर्मचारी सबैजसो उतै गएर स्थायी रुपमा बसोबास गर्न थालिसके । पुराना राजनीतिज्ञ , पूर्व जनप्रतिनिधिहरुसमेत राजनीतिबाट विश्राम लिएर उतै बसेका छन् । वैदेशिक रोजगारीमा हुनेहरुका श्रीमतीहरु पनि छोराछोरी पढाउन भनी भापातिर नै बसेका छन् । विदेशबाट केही कमाएर ल्याउनेहरु पनि उतै घर घडेरी किन्छन् र स्थायी बसोबास गर्न थाल्छन् । बसाइँ सरेर जानेहरु इलामको पूर्वतिर कम र पश्चिमतिर बढी रहेका छन् तर पनि यसको प्रभाव सबैतिर छ । यसरी बर्षेनी झापा झर्नेहरुको सङ्ख्या बढ्दै गएको छ । यता इलामका गाउँबस्तीहरु भने रित्तिँदै जान थालेका छन् । इलामेहरुले आफ्नै माटोसँग किन यति अविश्वास गर्न थाले भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।
इलाम हरियालीले भरिुएको सुन्दर पर्यटकीय स्थलका रुपमा परिचित छ । बिभिन्न नगदे बालीको खेतीका कारण इलाम आर्थिक हिसाबले पनि समुन्नत छ । दार्जिलिङको प्रभाव परेको इलामलाई शिक्षित , सभ्य र सुसंस्कृत मानिसहरु बसेको ठाउँ भनेर पनि चिनिन्छ ।
नेपाली साहित्यका चर्चित कवि भूपी शेरचनले आफ्नो कवितामा देशभरि अलि अलि इलाम छर्न मन लाग्यो भन्ने कविता रचना गरेका थिए । केही वर्ष अघि सरकारका अर्थमन्त्रीले आफ्नो वजेट भाषणमा देशविकासको इलाम मोडेल भनेर यसका आधारमा विकासलाई गति दिने लक्ष्य प्रस्तुत गरेको पनि देखिन्छ । इलामले गरेकै गतिमा देशको विकास गर्न सकिएको भए नेपाल कुृनै युरोपेली मुलुकभन्दा कम विकसित हुने थिएन । मानव विकास सूचाङ्कले पनि अन्य धेरै जिल्लाहरुको तुलनामा इलाम निकै अघि रहेको तथ्य प्रस्तुत गर्छ । इलामेहरु श्रम गरेर भएपनि बाँच्न सक्षम देखिन्छन् । इलामको माटो रसिलो , मलिलो र उर्वरा छ । श्रम गर्नेहरुलाई भोकले देख्न नपाउने मात्र होइन जीवनस्तर पनि उच्च बनेको देखिन्छ । तर यति धेरै गुण विशेषताले भरिएको इलामलाई छाडेर बर्षेनी झापातिर वसाइँ सर्ने बढ्दै जानु अचम्मकै कुरा भएको छ ।
द्वन्द्वकालभरि देशभरका मानिसहरुको जस्तै हामी इलामेहरुको पनि पहिलो प्राथमिकतामा सुरक्षा पर्दथ्यो । त्यही समयदेखि नै हाम्रो मानसिकतामा तीब्र उथलपुथल आयो । हाम्रो आस्था , हाम्रो धरोहर , हामीले पुस्तौँपुस्ता लगाएर गरेको लगानीभन्दा हाम्रो जीवन ठुलो हो भन्ने सोच विकास हुन थाल्यो । यही कारणले होला सुरक्षित र सुगमस्थलको बासस्थानलाई प्राथमिकतामा राख्न थालियो । परिणामस्वरुप पूर्वमा झापा मोरङदेखि लिएर चितवन सुर्खेत हुँदै पश्चिममा कैलालीसम्मकै तराईका भूभागहरु पहाडबाट झरेका मानिससहरुले खचाखच भएको छ । यसमा इलाममात्र अछुतो रहन सकेको छैन ।
शान्ति स्थापनापछि मानिसका जीवनका प्राथमिकता फेरिएका छन् । स्वास्थ्य , शिक्षा , यातायात , रोजगारीजस्ता कुराहरु मुख्य प्राथमिकतामा राखिएका छन् । यहाँ सामान्य औषधीले निको हुनसक्ने रोगका कारण नै थलिएर बस्नुपरेको छ । बर्षा लागेपछि बाटोको अवस्था दयनीय हुन्छ । भाडादर तेब्बरसम्म हुन्छ । ढुवानी भाडाका कारण महङ्गी उस्तै बढेको हुन्छ । बोर्डिङ् स्कुलको पढाइलाई मात्र पढाइ मान्न थालिएको हुँदा राम्रो विद्यालयको खाजी पनि मुख्य प्राथमिकतामा छ । यो ठाउँमा बसिरहे हात लाग्ने निराशा मात्र हो । आफू बसेको ठाउँमा विकास डोर्याएर ल्याउन त दसकौँ लाग्ला अथवा भनौँ शताब्दी नै लाग्ला । बरु आफैँ विकसित र सुविधासम्पन्न ठाउँमा बसाइँ सरेर जाने विकल्पलाई सबैले छान्न थालेको देखिन्छ ।
तथ्याङ्कमात्र हेर्ने हो भनेचाहिँ देशभरका पहाडी जिल्लाहरुको बसाइँ सराइको प्रभाव कम मात्र परेको जिल्लामा इलाम रहेको देखाइएको छ । जिल्लाभरका कतिपय गाउँवस्ती नै रित्ता बनिसक्दा पनि तथ्याङ्कमा किन यस्तो देखिन्छ भनेर जानकारहरुले खोजी पनि गरेका छन् । तराई झरेर स्थायी बसोबास गरेको बर्षौँ बितिसक्ता पनि विधिवत् रुपमा बसाईँ सराइको प्रमाणपत्र नलगेका कारण प्रभाव नपरेको तथ्याङ्क देखिएको हो । अन्य स्थानबाट बसाइँ सर्नेहरुका तुलनामा इलामेहरुलेमात्र यस्तो चलाखी गर्नुचाहिँ आश्चार्यको कुरा हो । देशभर चलेको इलामको सुनामका कारण आफू पनि इलामे नै भएको देखाउन यस्तो चलाखी गरेको बुझिएको छ ।
विकासको चरणमा रहेको समाजमा मानिसहरु एकीकृत बस्तीमा बस्न थाल्नु अनौठो कुरा होइन । युरोपमा पनि औधोगिक युगको थालनीसँगै मानिसहरु एकीकृत बस्तीमा बस्न थालेको र त्यसबाट उनीहरुका आधारधूत आवश्यकता पूरा गर्न सजिलो भएको कुरा बुझ्न पाइन्छ । तर हाम्रो एकीकृत बसाइको यो तरिका फरक किसिमको छ । यसले पहाडलाई कालावञ्जर बनाएर तराईको जनसङ्ख्या धान्नै नसकिने बनाइदिएको छ ।
यहाँ रहेकाहरु पनि यहीँ अडिनेवाला छैनन् । सबैजसोले झापामा घर घडेरी जोडिसकेका छन् । नजोड्नेहरु जोड्ने मनस्थितिमा छन् । उद्योगी व्यापारी शिक्षक कर्मचारीदेखि लिएर सामान्य किसानसम्म यहाँ कमाउने तराईमा जमाउने एउटै मूलमन्त्र जपेर हिडेजस्ता देखिन्छन् । जागिरेहरु भरसक सरुवा मिलाएर सुगमतर्फ जान प्रयत्न गरिरहेका हुन्छन् । नसके सेवानिवृत्त नहुन्जेल थामिन्छन् । व्यवसायीहरु व्यवसाय राम्ररी चल्दासम्ममात्र बस्ने मनस्थितिमा छन् । राजनीतिज्ञ र जनप्रतिनिधिलाई समेत यहीँ रहेर जीवन बिताइएला भन्ने विश्वास छैन । आफ्नो स्थिति राम्रो रहुन्जेल मात्र यहाँ बस्लान् । सबै बाटो लागेपछि कोमात्र पो यहाँ बसिरहला र ?
युरोप अमेरिकाको पी. आर्. लिएर बसेका नेपाल सरकारका उच्च ओहोदाका व्यक्ति र झापामा घर बनाएर आधा खुट्टा उचालेका इलामे नीतिनिर्माताहरु उस्तै हुन् । तिनीहरुले यहाँको विकासमा योगदान देलान् भन्ने के भरोशा र ?
हामी सामान्यहरु पनि यहाँ कमाएको एक दुई पैसा गर्दै सबैले झापामा लगानी गर्दै आएका छौँ । घडेरी किनेका छौँ , घर बनाएका छौँ । तर यहाँचाहिँ पटक्कै लगानी गर्न छाडेका छौँ । पचास वर्ष अगाडि बनेको घरको समेत मर्मत गरेका छैनौँ । एउटा अनुमान गरौँ , झापामा गरिएको लगानी यहीँ गर्न सकिएको भए हाम्रो गाउँ बस्ती कस्तो हुँदो हो ? बजारीकरण हुँदै गरेको यहीँको बस्तीमा चार पाँचओटा पक्की घर बन्न सकेका भए पनि यसको मुहार अर्कै हुन सक्थ्यो । हामी आफ्नै गल्ती देख्दैनौ । आफैँ यो ठाउँको विश्वास नभएर यहाँ एक पैसा पनि लगानी गर्दैनौँ । अनि नेताले यो ठाउँको विकास गरिदिएनन् भनेर रिसाउँछौँ , गाली गर्छौँ । यो विषय गम्भीर र मननीय छ ।
तराइतिर बसाइँ जानेहरु गए ,बस्नेहरु पनि अब त्यतिबेलासम्म यहाँ बस्लान् ,जबसम्म यही तराईमा गएर बाँच्न सक्षम बनिसकेका हुँदैनन् । जाने त सबै जाने नै हुन् । अब यताका खर्चिला बाटाहरु किन निर्माण गर्नुपर्यो ? स्वास्थ्यकेन्द्र र विद्यालयहरु किन सुविधासम्पन्न बनाउनुपर्यो ? खोलामा पूल पनि किन लगाउनु पर्यो । यावत् भौतिक विकास नै किन चाहियो ? मानिसहरुले उपयोग नगर्ने ठाउँमा गरिएको विकास व्यर्थ हुन्छ ।
शिक्षित , कर्मठ र पोरखी मानिसहरु छाडेर हिँडेपछि गाउँसमाज निष्क्रिय र गतिहीन बन्नु सामान्य कुरा हो । त्यसैले इलाम पनि माहुरीले मह रित्याएर छाडेको फोस्रो चाका जस्तो बन्न लागेको छ । यसका गम्भीर असर केही बर्षभित्रमा देखिन थाल्ने छन् । सम्बन्धित पक्ष समयमै सचेत बनून् ।
-फाकफोकथुम-३, इलाम