माङसेबुङ ३ चिवुवामा टोलस्तरीय फुटबल सुरु

  नयाँ बुलन्द  329 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित चिवुवामा टोलस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयको सहयोगमा वडा खेलकुद विकास समितिको आयोजनामा पुरुष र महिला फुटबल प्रतियोगिता र बुद्धिचाल प्रतियोगिता सुरु भएको हो ।

‘स्थानीय खेलाडी उत्पादन र प्रोत्साहन’ नारासाथ सोमबार पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उदघाटन प्रमुख अतिथि वडाअध्यक्ष लक्षुमन राई (जनम) ले गरे ।

सोमबार ३ खेल सम्पन्न भए । पहिलो खेलमा मान्द्रे सालघारीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै बाघमारा क्वाटरफाइनल प्रवेश गर्यो ।

दोस्रो खेलमा सिदङलाबुलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै मनिपुर क्वाटरफाइनल प्रवेश गर्यो । तेस्रो खेलमा चतुरे गुरुङगाउँलाई २-० गोल अन्तरले पराजित गर्दै चिवुवा सिम्ले विजयी बन्यो ।

प्रतियोगिताका विजेताले नगद २५ हजार र उपविजेताले १५ हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

यस्तै महिलातर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

बुद्धिचालतर्फ प्रथम स्थान हासिल गर्नेले पाँच हजार, दोस्रो स्थान हासिल गर्नेले दुई हजार पाँच सय र तेस्रो स्थान हासिल गर्नेले एक हजार पुरस्कार पाउनेछन् ।

वडा खेलकुद विकास समितिका अध्यक्ष मनकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा माङ्सेबुङ गाउँपालिका युवा तथा खेलकुद समिति उपाध्यक्ष्य कृष्ण बुढाथोकीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार