प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बुझायो मुख्यमन्त्री र सभामुखलाई अल्टिमेटमसहितको ज्ञापन पत्र

  नयाँ बुलन्द
266 Shares

विराटनगर : प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आइतबार मुख्यमन्त्री हिक्मत कार्की र सभामुख बाबुराम गौतमलाई अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्र बुझाउदै समितिले दोस्रो चरणको आन्दोलन सुरू गरेको जनाएको छ।

मुख्यमन्त्री कार्की काठमाडौंमा भएका कारण आन्दोलनकारीको ज्ञापन प्रदेशका मन्त्री तिलकुमार मेयाङ्बोले बुझेका छन्। उनले नामविहीन प्रदेशको दबाबले नामकरण गरिएको जवाफ आन्दोलनकारीलाई दिएका छन्। सबैधानीक प्रकृर्यावाट नामाकरणको विष टुङ्गिएका बताउदै उनले चार जना बाहेकका सांसदले समर्थन गरेको स्मरण समेत पहिचान पक्षधरलाई गराएका छन ।

सभामुख बाबुराम गौतमले पनि नामविहीन प्रदेशले संघीयता कमजोर हुने भयले नामकरण गरिएको बताउँदै पुनः नामकरणको सम्भावना खुला नै रहेको बताएका छन्।

फागुन १७ मा प्रदेशसभाको दुई तिहाइ मतबाट प्रदेशको नाम कोशी राखिएसँगै प्रदेशमा पहिचानवादी आन्दोलन सुरू भएको थियो। त्यसक्रममा चैत ५ मा विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा चैत १० मा मृत्यु भएको थियो। उनलाई शुक्रबार सरकारले सहिद घोषणा गरेको छ। यद्यपि राजपत्रमा सूचना प्रकाशित नभएसम्म र सरकारले औपचारिक पत्राचार नगरेसम्म उनको शव नउठाउने अडान आन्दोलनकारीको छ। उनको शव अहिले पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै छ।

संयुक्त संघर्ष समितिले कोशीका पक्षमा मतदान गर्ने प्रदेशका ८२ जनै सांसदहरूलाई चेतावनी पत्रसमेत पठाउने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार