माङसेबुङ : माङसबुङ गाउँपालिकाका विभिन्न विद्यालयमा भर्खरै पदस्थापन भएका शिक्षकलाई एकीकृत अखिल नेपाल शिक्षक संगठनले बधाई र शुभकामना व्यक्त गरेको छ ।
शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको परीक्षा उत्तिर्ण गरी स्थायी नियुक्तिपत्र लिएर माङसेबुङका विभिन्न विद्यालयमा पदस्थापन गरेका शिक्षकलाई संगठनले आइतबार बधाई र शुभकामना व्यक्त गरेको हो ।
माङसेबुङ गाउँपालिका प्राङ्गणमा आयोजित कार्यक्रममा संगठनका जिल्ला सचिव अमृत योङहाङ, माङसेबुङ गाउँपालिका अध्यक्ष शक्ति साँवा, उपाध्यक्ष दुर्गा मैनाली, प्रेस सेन्टरका केन्द्रीय सदस्य राम योङहाङलगायतले नवनियुक्त शिक्षकलाई बधाई र शुभकामना व्यक्त गर्दै खादा र अविर लगाएर सम्मान समेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका जिल्ला सचिव योङहाङले एकीकृत अखिल नेपाल शिक्षक संगठन शिक्षकहरुको पेशागत हकहितका लागि स्थापना भएको बताउँदै कुनैपनि शिक्षकको पेशागत हकहित हनन् भए आफ्नो संगठनले सहयोग गर्ने बताए ।
शिक्षा विकास तथा समन्वय इकाई इलामबाट स्थायी नियुक्तिपत्र लिएर आएका शिक्षकलाई गाउँपालिकाले आइतबार नै पदस्थापन गरेको छ । गाउँपालिकाले योग्यताक्रमका आधारमा विभिन्न विद्यालयमा पदस्थापन गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई इलामले प्रावि तहका ४२ शिक्षकलाई स्थायी नियुक्तिपत्र दिएर माङसेबुङ गाउँपालिकामा पालिकामा पठाइएको थियो ।
माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको अध्यक्षता र गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षकलाई पदस्थापन पत्र प्रदान गरिएको थियो ।
पदस्थापनपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष राईले माङसेबुङको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नगरी काम गर्न आग्रह गरे । उनले विकासको पहिलो खुड्किलो नै शिक्षा भएको बताउँदै शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्नेगरी आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।
शिक्षा शाखाप्रमुख खतिवडाले कम्तीमा २ वर्ष पदस्थापन भएकै विद्यालयमा काम गरी माङसेबुङ गाउँपालिकालाई सहयोग गर्न आग्रह गरे ।