माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा प्राथमिक तहका ४२ जना स्थायी शिक्षक थपिएका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तिर्ण गरी स्थायी नियुक्तिपत्र लिएका शिक्षक थपिएका हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई इलामबाट स्थायी नियुक्तिपत्र लिएर आएका शिक्षकलाई गाउँपालिकाले आइतबार पदस्थापन गरेको छ । गाउँपालिकाले योग्यताक्रमका आधारमा विभिन्न विद्यालयमा पदस्थापन गरेको हो ।
माङसेबुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाको अध्यक्षता र गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षकलाई पदस्थापन पत्र प्रदान गरिएको थियो ।
पदस्थापनपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष राईले माङसेबुङको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नगरी काम गर्न आग्रह गरे । उनले विकासको पहिलो खुड्किलो नै शिक्षा भएको बताउँदै शैक्षिक क्षेत्रमा व्यापक सुधार गर्नेगरी आफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे ।
शिक्षा शाखाप्रमुख खतिवडाले कम्तीमा २ वर्ष पदस्थापन भएकै विद्यालयमा काम गरी माङसेबुङ गाउँपालिकालाई सहयोग गर्न आग्रह गरे ।
यसैबीच नवनियुक्त शिक्षकहरुलाई एकीकृत एकीकृत अखिल नेपाल शिक्षक संगठनले बधाई र शुभकामना व्यक्त गरेको छ ।
संगठनका जिल्ला सचिव अमृत योङहाङको उपस्थितीमा स्थायी नियुक्तिपत्र लिएर पदस्थापन भएका शिक्षकलाई बधाई र शुभकामना व्यक्त गरेको हो ।
माङसेबुङ गाउँपालिका प्राङ्गणमा आयोजित कार्यक्रममा संगठनका माङसेबुङ गाउँपालिका अध्यक्ष शक्ति साँवा, उपाध्यक्ष दुर्गा मैनालीलगायतले नवनियुक्त शिक्षकलाई बधाई र शुभकामना व्यक्त गर्दै खादा र अविर लगाएर सम्मान समेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै संगठनका जिल्ला सचिव योङहाङले एकीकृत अखिल नेपाल शिक्षक संगठन शिक्षकहरुको पेशागत हकहितका लागि स्थापना भएको बताउँदै कुनैपनि शिक्षकको पेशागत हकहित हनन् भए आफ्नो संगठनले सहयोग गर्ने बताए ।
शिक्षा विकास तथा समन्वय इकाई इलामले प्रावि तहका ४२ शिक्षकलाई स्थायी नियुक्तिपत्र दिएर माङसेबुङ गाउँपालिकामा पालिकामा पठाइएको थियो ।