इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित नाङरुङमा संचालित लोकसेवा तयारी कक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आइतबार सकिएको छ ।
वडाभित्रका युवाहरुलाई सरकारी सेवातर्फ लाग्न उत्प्रेरित गर्ने उदेश्यले वडा कार्यालयको आयोजना र शेर्पा मल्टिट्रेनिङ सेन्टर प्रालि इलामको सहजीकरणमा भएको अभिमुखीकरण सकिएको हो ।
अभिमुखीकरणमा स्थानीय ३६ जना युवाहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, माङसेबुङ गाउँपालिकाकी लेखा अधिकृत मञ्जु भट्टराई र प्रशासकीय अधिकृत मनिमा भट्टराईले सहजीकरण गरेका थिए ।
अभिमुखीकरणमा लोकसेवा के हो, लोकसेवाको परीक्षा तयारी कसरी गर्ने, लोकसेवाको परीक्षामा उत्तिर्ण हुन कसरी पढ्ने, लोकसेवा पढ्दा ध्यान दिनुपर्ने कुराहरु के-के हुन्, लोकसेवा परिक्षाको पाठ्यक्रम र पाठ्यभार, लेखनशैली लगायतको विषयमा सहजीकरण भएको थियो ।
माङसेबुङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष भूपाल योङहाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यक्रममा सहजकर्ता प्रमुख प्रशासकीय अधिकृत लिम्बू र वडा सदस्य मिनप्रकाश लिम्बू (रोचक) ले मन्तव्य राखेका थिए ।
वडाध्यक्ष योङहाङले वडाभित्र स्थायी बसोबास भएका युवाहरुलाई निजामति सेवामा लाग्न उत्प्रेरणा प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको बताए । परिक्षणको रुपमा पहिलोपटक यस्तो कार्यक्रम संचालन गरिएको बताउँदै उनले कार्यक्रमको प्रभावकारिताका आधारमा आगामी दिनमा समेत यस्ता कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाए ।
प्रमुख प्रशासकीय अधिकृत लिम्बूले आफू कुन क्षेत्रमा जाने हो भन्ने पहिले नै निर्णय गरी अगाडी बढे अवस्य सफलता प्राप्त गर्न सकिने बताए । उनले सरकारी क्षेत्रमा नै प्रवेश गर्ने हो भने दोधारमा नपरी अहिलेदेखि नै मेहनत सुरु गर्न आग्रह गरे । वडा सदस्य लिम्बूले समेत युवाहरुमा वैदेशिक रोजगारीमा भन्दा सरकारी सेवामा प्रवेश गराउन कार्यक्रम संचालन गरिएको बताए ।
यसैबीच कार्यक्रम समापनका अवसरमा माङसेबुङ गाउँपालिका १ नम्बर वडा कार्यालयले प्रमुख प्रशासकीय अधिकृत लिम्बूलाई सम्मान गरेको छ । सोही वडामा जन्मेर निजामति क्षेत्रमा प्रवेश गरी गाउँ र वडाकै प्रतिष्ठा बढाउनमा सहयोग गरेको भन्दै वडाले सम्मान गरेको हो । वडाअध्यक्ष योङहाङले सम्मानपत्र प्रदान गरी सम्मान गरका हुन् ।
कार्यक्रममा वडा सदस्यहरु डिकमाया ल्वागुन, ठगबहादुर श्रेष्ठ, सिर्जना मगराती पत्रकार राम योङहाङलगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन वडा सचिव टिकामाया नेपालले गरेकी थिइन् ।
सो कार्यक्रमका लागि माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत बजेट तथा कार्यक्रम अन्तरगत वडा सिलिङतर्फ वडा कार्यालयले ‘क्षमता विकास तालिम’ शिर्षकमा बजेट विनियोजन गरको गरेको थियो ।
सो शिर्षकबाट यसअघि वडाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई क्षमता विकास तालिम संचालन गरेको थियो ।