पर्यटकीयस्थल इलामको सन्दकपुरमा महोत्सव सुरु

  नयाँ बुलन्द  201 पटक हेरिएको

इलाम : आकर्षक पर्यटकीयस्थलले भरिपूर्ण इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले ‘प्रथम सन्दकपुर महोत्सव’ शुक्रबारदेखि सुरु भएको छ ।

‘एकीकृत पर्यटनको प्रवर्द्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ सुरु भएको महोत्सव १० वैशाखसम्म विभिन्न कार्यक्रमसाथ संचालन हुनेछ । महोत्सवमा डेढ लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष राखेको महोत्सवमा विभिन्न कार्यक्रमहरु संचालन हुनेछन् ।

महोत्सवमा नयाँ वर्षको दिन १ वैशाखमा पुरुष र महिलाको फरक-फरक म्याराथुन प्रतियोगिता हुनेछ । खुल्ला इलाम माईपोखरी माराथुन पतियोगितामा पुरुषतर्फ इलाम नगरपालिका-१०, गोदकको नारायण चोकदेखि सन्दकपुरको सातखाल्डेसम्म ४२ दशमलव २ र महिलातर्फ इलाम बजारदेखि सातखाल्डेसम्म २१ दशमलव १ किलोमिटर दुरीको म्याराथुन हुनेछ ।

पुरुषतर्फ म्याराथुनको दूरी पार गर्न ४ घण्टा १० मिनेट र महिला तर्फको दूरी पार गर्नका लागि २ घण्टा ५ मिनेट समय निर्धारण गरिएको छ ।

पुरुषतर्फको म्याराथुन पहिलो स्थान हासिल गर्ने प्रतियोगीले दुई लाख ५० हजार, दोस्रो स्थान हासिल गर्ने प्रतियोगीले एक लाख ५० हजार र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिलातर्फको पहिलो स्थान हासिल गर्ने प्रतियोगीले एक लाख, दोस्रो स्थान हासिल गर्ने प्रतियोगीले ५० हजार र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले ३५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रमख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए ।

म्याराथुन प्रतियोगिता इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र नेपाली सेनाको रणशार्दूल गण इलामको संयुक्त आयोजनामा हुनेछ ।

इलामका पर्यटकीय गन्तव्यलाई खेलकुदका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित र चलायमान गराउन प्रतियोगिता संचालन गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए ।

प्रतियोगितामा भाग लिन इलामसहित देशका विभिन्न जिल्लाबाट धावकहरू आउने आयोजकले जनाएको छ । जिल्लाबाहिरबाट आउने धावकका लागि प्रतियोगिताको अघिल्लो दिनको खाना र बासको व्यवस्था आयोजकले गरेको छ । निर्धारित समयमा दूरी पार गर्ने प्रतियोगीलाई थप १ दिन खाना र आवास व्यवस्था आयोजकले गर्नेछ ।

त्यस्तै महोत्सवको मुख्य आकर्षणका रूपमा ल्यान्डरोभर सफारी, सन्दकपुर गोल्डकप, उच्च पहाडी क्षेत्रमा साइक्लिङ प्रतियोगिता, स्थानीय खानाका परिकार, कलाकारहरूको प्रस्तुतीलगायत राखिएका छन् । महोत्सवमा आउने पर्यटकले जिल्लाकै अग्लो डाँडो सन्दकपुर, रामसार क्षेत्र माइपोखरीसहित छिन्टापु, मेची क्षेत्रकै अग्लो टोड्के झरनालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सक्नेछन् ।

गुरुङ, राई, शेर्पा, सुनुवार, ब्राह्मण-क्षेत्रीलगायत जातजातिको बसोबास रहेको क्षेत्रमा आयोजित महोत्सवमा स्थानीय सांस्कृतिक झाँकी, याक, भोटे कुकुर तथा पर्यटकीयस्थलको भिडियो प्रदर्शनीसमेत राखिएको आयोजक मूल समारोह समितिले जनाएको छ ।

सन्दकपुर, मानेभञ्ज्याङ र सीमा जोडिएको भारतका दार्जिलिङ, कर्साङ, चिम्नी, टाइगरहिल, जोबवंगला, सुकियापोखरीतिरबाट पर्यटकहरू बर्सेनि साइकलमा हुइँकिन यहाँ आउँछन् । सन्दकपुर, मानेभञ्ज्याङ, तुम्लिङ, कालपोखरी, गोर्खे, फालोट र रिम्बिकका तीन हजार मिटरभन्दा उचाईका पहाडमा म्याराथुनसमेत आयोजना गर्ने गरिएको छ ।

यहाँको साइकल यात्रा र म्याराथुनमा रमाउन बेलायत, अष्ट्रेलिया, भारत, जापान, अफ्रिका, कोरिया, अमेरिका, जर्मनीलगायत देशबाट पर्यटक आउनेगरेको स्थानीय व्यवसायी बताउँछन् ।

महोत्सवको संरक्षकको रुपमा सन्दकपुर गाउँपालिका रहेको छ । पर्यटनका माध्यमबाट आर्थिक क्रियाकलाप बढाउने, स्थानीय तहको सांस्कृतिक, सामाजिक, पर्यावरणीय विकास र प्रवर्धन गर्ने, नागरिकको जीवनशैली स्वस्थ तथा बहुआयामिक हिसाबले गुणस्तरीय बनाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

पर्यटकीय गन्तव्य सन्दकपुर

फाइल तस्वीर

उत्तरी इलामको सीमावर्ती सन्दकपुर गाउँपालिका २ र ४ मा अवस्थित सन्दकपुर पूर्वी नेपालकै प्रमुख गन्तव्यमध्येको पर्यटकीय स्थल हो । नेपाल, भारत र भुटानको हिमाललाई अंगालो हालेर बसको सन्दकपुर एक साथ तिन देशको हिमालय अवलोकन गर्न सकिने दक्षिण एसियाको एक मात्र ठाउँ हो ।

इलाम सदरमुकामबाट सन्दकपुरको दूरी करिब ५० किलोमिटर छ । तिन हजार छ सय ३६ मिटरको उचाइमा रहेको सन्दकपुरबाट सगरमाथा, कञ्चनजंघालगायत नेपाल, भारत र भुटानका थुप्रै हिमाललाई आँखामा कैद गर्न सकिन्छ ।

सूर्योदय दृश्यावलोकनका लागि पनि सन्दकपुर अब्बल स्थान हो । यहाँबाट सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, मकालु, पाथीभरा कुम्भकर्ण जस्ता ६० बढि हिमचुचुरालाई एकै ठाउँबाट नियाल्न सकिन्छ ।

यो क्षेत्र धार्मिक र जैविक विविधताले पनि महत्त्वपूर्ण छ । कन्काई माईको उद्गम स्थल सन्दकपुर क्षेत्रमा असोजदेखि जेठसम्म पर्यटकको लर्को हुन्छ ।

युरोप, अमेरिकादेखि भारतका विभिन्न सहरबाट यहाँ घुम्न आउने गर्छन् । यहाँ चैत–वैशाखमा डाँडै ढाक्ने गरी ढकमक्क फुलेको गुराँसले मन लोभ्याउँछ । सदरमुकाम इलामबाट माईपोखरी माईमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । माबुबाट कालपोखरी हुँदै पनि सन्दकपुर पुगिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार