चुलाचुली गाउँपालिकाको तेस्रो सार्वजनिक सुनुवाई तोरीबारीमा, गुणस्तरीय सेवाप्रवाहमा प्रतिवद्धता

  नयाँ बुलन्द
189 Shares

चुलाचुली इलामको चुलाचुली गाउँपालिकाले तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर ६ तोरीबारीमा बुधबार सम्पन्न गरेको छ ।

गाउँकार्यपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र ६ नम्बर वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्ने तयारी गरेको चुलाचुलीले बुधबार ६ नम्बर वडा सम्पर्क कार्यालय तोरिबारीमा तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।

चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ९३ जना सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा १४ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा भीमबहादुर विष्ट, वीरबहादुर पौडेल, शर्मीला पोख्रेल, देवीमाया बस्नेत, कुमार विश्वकर्मा, राधा दाहाल, टिका विश्वकर्मा, राजकुमारी पौडेल (खड्का), टंकप्रसाद कोइराला, लक्ष्मी मिश्र, लिसाहाङ राई, प्रजन राई, टेकबहादुर विष्ट र दिपेन राईले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

उनीहरुले चुली बाटो निर्माणका लागि बजेट, वडा सम्पर्क कार्यालयको माथिल्लो तला थप, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषकहरुलाई वितरण गरिने रासायनिक मल र मकैको विउ, नुनसरी खोलाले बगाएको खानेपानीको इन्टेक, गरिबसँग विश्वेश्वर कार्यक्रममा पालिकाको साझेदारी, अव्यवस्थित बसोबासीहरुको जग्गा धनीपूर्जा, विपन्न परिवारलाई बजेट, महिला लक्षित वर्गको बजेटलगायतको बारेमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावती योङहाङ र वडा अध्यक्ष वडा अध्यक्ष दिलकुमार राईले दिएका थिए ।

उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । चुलाचुली गाउँपालिका अध्यक्ष केरुङले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । सेवाग्राहीको सुझावलाई आगामी नीति, कार्यक्रम र योजनामा समेट्दै लैजाने प्रतिवद्धता जनाए ।

उपाध्यक्ष योङहाङले सार्वजनिक सुनुवाईबाट आएका सुझावहरुलाई आगामी दिनमा सम्बोधन गर्दै लैजाने प्रतिवद्धता जनाए ।

वडा अध्यक्ष राईले वडाबासीहरुको जिज्ञासा र सुझावलाई वडाले आगामी दिनमा सम्बोन्धन गर्दै लैजाने प्रतिवद्धता जनाए ।

कार्यक्रमको उदेश्यसहित स्वागत वडा सचिव सुवासचन्द्र लिम्बू र वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी जानकारी वडा अध्यक्ष राईले  प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र २९ जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले चुलाचुली गाउँपालिकाले वडासत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिरहेको छ ।

बाँकी वडा नम्बर १, २, ४ र गाउँपालिकामा समेत चाँडै सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिने गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमका तस्विरहरु :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार