माङसेबुङमा आयोजित बेमौसमी तरकारी खेती तालिम सकियो

  नयाँ बुलन्द  652 पटक हेरिएको

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ स्थित दहगाउँमा आयोजित बेमौसमी तरकारी खेती सम्बन्धी तिन दिवसीय तालिम मंगलबार सकिएको छ ।

माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा शेर्पा मल्टट्रेनिङ सेन्टर प्रालि इलामको आयोजनामा भएको तालिम सकिएको हो ।

स्थानीय कृषकहरुलाई बेमौसमी तरकारी खेतिप्रति आकर्षित गरी व्यावसायिक बनाउने उदेश्यले संचालित तालिममा वडामा माथिल्लो क्षेत्रका स्थानीय ४४ जना अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।

तालिमका सहभागीहरुलाई सहजकर्ता तोयानाथ भट्टराईले सहजीकरण गरेका थिए । तालिममा बैमौसमी तरकारी खेतीको सैद्धान्तिक कक्षासँगै माटोपरिक्षण र प्रयोगात्मक कक्षा समेत संचालन गरिएको थियो । कृषकले आफ्नो बारीमा कुन बालि लगाउँदा उपयुक्त हुन्छ भन्ने थाहा पाउनका लागि तालिमकै शिलशिलामा माटो परिक्षण गराईएको थियो ।

तालिम समापनको अवसरमा सहभागीहरुलाई प्रमाणपत्र र विउ समेत वितरण गरिएको थियो । सहभागीहरुलाई काँक्रा, करेला, मूला, सिमी, बन्दालगायतको विउ वितरण गरिएको थियो ।

प्रमुख अतिथि एवम् वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले सहभागीहरुलाई प्रमाणपत्र र विउ वितरण गरे । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष बस्नेतले तालिममा सिकेका सीपलाई प्रयोग गर्दै व्यावसायिक तरकारी खेती गरी आयआर्जनमा वृद्धि गर्न अनुरोध गरे ।

तालिम स्थानीय दहगाउँ सामुदायिक भवनको सभाहलमा भएको थियो ।

माङसेबुङ गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० को स्वीकृत बजेट तथा कार्यक्रम अन्तरगत वडा सिलिङतर्फको बेमौसमी तरकारी खेती प्रवर्द्धन कार्यक्रमबाट तालिम संचालन गरिएको वडाअध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार