इलाम : कृषि उत्पादन र पशुपंक्षिपालनमा नाम कहलिएको जिल्ला इलाममा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जनशक्ति विहिन बनेको छ । विगत तीन महिनादेखि पशु प्राविधिक र कर्मचारी नहँुदा एक कार्यालय सहयोगीको भरमा कार्यालय सञ्चालन भइरहेको छ ।
दिनहुँ चार पाँच जना जति सेवाग्राही आउँछन् । प्रयोगशालामा कहिले काँही समस्या हुन्छ नगरपालिकाबाट प्राविधिक बोलाएर बेला बेला काम चलाउँछु ।’ तीन महिनादेखि एक्लै कार्यालय संचालनग गरिरहेको कार्यालय सहयोगी टंक प्रसाद खतिवडा बताउछन् । विहान कुचो लगाउने देखि लिएर बोका सुँगुर खसी पार्ने काम पनि गर्नुपर्ने उनले जानकारी दिए ।
इलाम नगरपालिका वडा ९ का रोमनाथ नेपाल १२ दिनदेखि गाई विरामी भएको तर विशेषज्ञ डाक्टर उपलव्ध नभएको बताउँछन् ।
उनले भेटनरी अस्पताल भद्रपुरमा फोन गरेर जानकारी गराउँदा पनि सिमित जनशक्ति भएकोले केहिदिन लाग्ने जवाफ पाएको बताए ।
इलामको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलाई कर्मचारी नभएकाले सम्पर्क कार्यालयको रुपमा संचालन गरिरहेको पाइएको छ ।
यहाँ कार्यरत पशु चिकित्सक डा संञ्जय ढुंगाना गत माघ ३ गते मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएपछि कार्यालय सहयोगीको घरमा कार्यालयल संचालन हुदै आएको हो । कार्यालयमा कार्यरत कर्मचारीहरु डिग बहादुर कार्की र भीम संग्रौलाले अवकाश पाएपछि प्रदेश मन्त्रालयले यहाँ जनशक्ति परिचालन गरेको छैन । डा ढुंगाना सरुवा मिलाएर मन्त्रालयमा नै हाजिर गरिरहेका छन् ।
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेगनाथ तिम्सिनाले प्रदेशमा कर्मचारी नै अभाव भएकाले तत्काल पठाउन नसकिएको जानकारी दिए । उनले एक जना कर्मचारी पठाउन सकिने तर इलाममा सम्पर्क कार्यालय नभई विज्ञ केन्द्रकै रुपमा चलाउन प्रदेश सभा सदस्य र पत्रकारहरुले पनि पहल गर्नुपर्ने सुझाए ।
आफूले यो समस्याका बारेमा प्रदेश मुख्यमंत्रीसँग कुरा राखेको र यसै आर्थिक वर्षमा विज्ञ केन्द्रकै रुपमा सञ्चालन गर्ने निर्देशन दिनुभएको जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता पशुपति पोख्रेलले पठाउने मान्छे कोही नभएकाले सवै समस्या थाहा हुँदा हुँदै केही गर्न नसकिएको जानकारी दिए ।
यता पशुपालनमा नाम कहलिएको जिल्ला इलामका किसान भने सामान्य समस्यामा पनि भद्रपुर सम्म धाएर सेवा लिन बाध्य भएका छन् ।
झापा भद्रपुरमा रहेको विज्ञ केन्द्रमा समेत मत्स्य विकास अधिकृतले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
प्रयोगशाला, कार्यालय निवास, सहितको संरचना रहको इलाम को पशु सेवा विज्ञ केन्द्रमा रहेका विभिन्न उपकरण पनि त्यसै सञ्चालनमै नआइ थन्किएको छ ।
यहाँ रहेको कुटी काट्ने, साइलेज बनाउने, मिनरल व्लक बनाउने मेशिन र काउ सिड जस्ता उपकरण समेत प्रयोग विहिन बनेका छन् ।
कार्यालय सहयोगी खतिवडाले दिनहुँ कुकुरलाई भ्याक्सीन लगाउने, बोका सुँगुर खसी पार्ने गोवर परिक्षण गर्ने, औषधी लिने सेवाग्राही आउने गरेको सुनाए ।
पुर्व प्रधानमंत्री, संविधानसभा अध्यक्ष र राष्ट्रपतिका उमेद्धार रहेको जिल्ला इलामका किसानहरु आधारभुत रुपमा पशुपंक्षिको समेत सेवा नपाउँदा व्यवसायिकता धरापमा परेको बताउन थालेका छन् ।
बार्षिक २० देखि २५ करोडको छुर्पी निर्यात हुने, चिजको उत्पादनका लागि नाम कमाएको जिल्लामा रहेको पशु सेवा विज्ञ केन्द्रमा रहेको दुराअवस्थाले कृषि तथा पशुपालनमा नकारात्मक प्रभाव पार्ने देखिएको छ ।