इलाम : इलामको चुलाचुली गाउँपालिकाले बुधबार ६ नम्बर वडा सम्पर्क कार्यालय तोरीबारीमा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दैछ ।
गाउँपालिकाको कार्यालय, विभिन्न विषयगत शाखाहरु र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको हो ।
चुलाचुली गाउँपालिकाको तेस्रो कार्यक्रम अन्तगत बुधबार तोरीबारीमा सार्वजनिक सुनुवाई कार्यक्रम हुँदैछ । वडा सम्पर्क कार्यालयको प्राङ्गणमा विहान साढे ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ ।
चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सार्वजनिक सुनुवाई संचालन हुनेछ ।
कार्यक्रममा वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत हुनेछ ।
त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गर्नेछ ।
त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत गर्नेछ ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत हुनेछ ।
त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राख्नेछन् । गाउँपालिकाको तर्फबाट अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलु लावती योङहाङ, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी एवम् वडाको तर्फबाट वडाअध्यक्ष दिलकुमार राईले सेवाग्राहीको जवाफ दिनुका साथै आगामी दिनमा सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाउनेछन् ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेज https://www.facebook.com/nayabulanda/ बाट हुनेछ ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।